‘महारानी’ उपन्यास लेखक चन्द्रप्रकाश बानियाँलाई मदन पुरस्कार



फिदिम । मदन पुरस्कार गुठीले वि.सं. २०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको छ।

गुठीको आइतवार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार अन्तिम छनोटमा परेका सात कृतिमध्ये ‘महारानी’का लागि बानियाँलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।

यस वर्षको मदन पुरस्कारको लागि ७ कृति छनोटमा परेका थिए । विमल निभाको जोकर बन्दुक, ललित विष्टको मोहपथ, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको पतित्यक्ता, योगी धर्ममहारसको महारसनीघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी र शारदा शर्माको ‘यात्रामा’ थिए ।

यो वर्ष गुठीलाई १५१ पुस्तकहरू प्राप्त भएका गुठीले जनाएको थियो । यी सातवटा कृतिमध्ये महारानीलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिने निर्णय भएको हो। मदन पुरस्कारको राशी ४ लाख रुपैयाँको छ।

प्रतिक्रिया दिनुहोस्