

फिदिम । आज असोज ३ गते अर्थात संविधान दिवस । जनयुद्ध र २०६२/०६३ को आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।
संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी छ । दिवसका अवसरमा अहिले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसका अवसरमा विगत बर्षमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने गरेपनि यो पटक भिन्न हुने भएको छ ।
कोरोना नियन्त्रणमा सफलता मिलोस : राष्ट्रपति
संविधान दिवसका अवसरमा राष्ट्पति विद्यादेवी भण्डारीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश जारी गर्दै संविधानको मर्र्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिएकी छन् । राष्ट्पति भण्डारीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको जनाएकी छन् ।
‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् । जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको छ’, राष्ट्पति भण्डारीले शुभकामना दिदै भनेकी छन् ।
उनले संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारहरूलाई सुनिश्चित गर्न विगत दुई वर्षमा तीनसयभन्दा बढी कानुनहरूको निर्माण भएको तथा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनहरूको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको बताएकी छन् । ‘संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
राष्ट्रपतिले आजको दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा गर्दै संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न सवैलाई आव्हान पनि गरेकी छन् । ‘यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्वान गर्दछु’, राष्ट्रपतिले आव्हन गरेकी छन् । त्यस्तै उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहना गर्दै त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन् ।
संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य पूरा हुने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
“नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो”, उनले भनेका छन्, “संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।”
उपराष्ट्रपतिले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२र०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गरेका छन् । उपराष्ट्रपतिले आफ्ना अधिकार संस्थागत गरेको संविधानप्रति गौरव गर्न सबैमा अपिलसमेत गरेका छन् ।
संविधान गतिशिल दस्तावेज : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले संविधान दिवस, २०७७ को अवसरमा शुभकामना व्यक्त गदै संविधानमा भएका व्यवस्था कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएकोले त्यसमा प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता औल्याएका छन् । संविधान दिवसको शुभकामना सन्देश जारी गर्दै सापकोटाले संविधान एउटा गतिशील दस्तावेज भएको भन्दै यही संविधान अनुसार देश संघीय प्रणालीमा गएको र यसले स्थानीय तह र प्रदेश तहको संवैधानिक व्यवस्था गरेको बताएका छन् ।
‘संघ, प्रदेश र स्थानीय तह बीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवादहरु सृजना हुन नदिन सचेत बन्नुपर्ने छ । संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाई भएको गुनासा सम्बोधन गर्नुपर्ने छ । कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु’, सभामुख सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।