घुन्सा र सिम्बुवामा वैदेशिक रोजगारीमा गएका नेपालीको ३० प्रतिशत लगानी



फिदिम । ताप्लेजुङमा निर्माण हुने घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको ३० प्रतिशत लगानी भित्र्याउने योजना तय गरिएको छ । आयोजनाका लागि चाहिने स्वपुँजी (इक्विटी) का रूपमा उक्त लगानी हुनेछ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) अन्तर्गतको रेमिट हाइड्रोले निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवामा विदेशमा काम गर्दा विदेशमा काम गर्ने नेपालीले पेन्सनको रूपमा प्रतिफल पाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए ।

‘जनताको जलविद्युत् आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति’को शुक्रबारको बैठकमा पुनले रेमिट्यान्सको लगानी प्रतिशत बृद्धि गर्ने प्रक्रिया अघि बढाउन एचआइडिसिएललाई निर्देशन दिए । दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत (स्वपुँजी) र ७० प्रतिशत ऋण लगानी गर्ने गरी मोडालिटी तयार गरिएको छ ।

विदेशमा बस्ने प्रत्येक नेपालीले ५ लाख रुपैयाँ लगानी गर्ने गरी मोडालिटी तयार गर्न पनि मन्त्री पुनले निर्देशन दिएका छन् । ‘वैदेशिक रोजगारीमा गएकाका लागि अहिले प्रस्तावित शेयर कम देखिन्छ, इच्छुकले कम्तीमा ५ लाख रुपैयाँ लगानी गर्न सक्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘यसबाट आउने मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानुपर्ने बाध्यता हट्छ ।’

अहिले दुवै आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा छ । आयोजनाको लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएको कम्पनीले जानकारी दिएको छ । करिब २१ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको दुवै आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्