एक वर्षमा २५ सय मेगावाटका आयोजनाले लिए अनुमतिपत्र



फिदिम । विद्युत विकास विभागले एक वर्षमा करिब २५ सय मेगावाटका आयोजनाको अनुमतिपत्र जारी गरेको छ । विभागले आर्थिक वर्ष २०७६र७७ को साउनदेखि असार मसान्तसम्ममा जलविद्युत, सौर्य र वायु ऊर्जा गरी ७५ आयोजनाको अध्ययन तथा उत्पादन अनुमतिपत्र जारी गरेको हो ।

विभागका अनुसार प्रक्रिया पुर्याएर १७ सय ७५ मेगावाटका ३९ आयोजनाको अध्ययन अनुमतिपत्र जारी भएका छन् । जसमा २६ वटा जलविद्युत आयोजना छन् । जलविद्युत आयोजनाको जडित क्षमता १६ सय ९० मेगावाट छ ।

१२ वटा सौर्य विद्युत आयोजना छन् । यी आयोजनाको जडित क्षमता ८० मेगावाट छ । मुस्ताङको जोमसोममा निर्माण हुने गरी ३ मेगावाटको एउटा वायु ऊर्जा आयोजनाको अध्ययन अनुमतिपत्र विभागले दिएको छ ।

यस्तै, अध्ययन पूरा भई निर्माणमा जाने तयारीका ७ सय ८ मेगावाटका ३६ आयोजनाले गत आवमा उत्पादन अनुमतिपत्र लिएका छन् । जसमा जलविद्युततर्फ ६ सय ७६ मेगावाटका ३१ र सौर्य विद्युततर्फ ३५ मेगावाटका ५ आयोजना छन् ।

प्रासारण लाइनतर्फ पनि ४५ आयोजनाको अनुमतिपत्र जारी भएको विभागले जनाएको छ । विभागले निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणको नाममा ३३ केभीदेखि ४ सय केभी क्षमताका प्रसारण लाइन आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

जसमा १८ आयोजनाको निर्माण सुरु गर्न तथा बाँकी २७ आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरिएको हो । विभागले गत आवमा प्रगति शून्य भएका ८ सय ३९ मेगावाटका २४ आयोजनाको अनुमतिपत्र खारेज गरेर बास्केटमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्