

पाँचथर, २५ भदौ
फिदिम नगरपालिकामा भदौ २६ गतेबाट ब्यापार–ब्यवसाय सञ्चालनमा ल्याउन ब्यवसायीहरुलाई आव्हान गरेको छ ।
नगरप्रमुख ओनाहाङ नेम्वाङले विहीवार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका उपाय तथा सावधानी अपनाउँदै उद्योग, ब्यापार सञ्चालन गर्न आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमण फैलन नदिन पाँचथरमा गत भदौ १२ गतेबाट सवारी सञ्चालनमा रोक लगाइएपछि फिदिम नगरपालिकाले नगर भित्र लकडाउन गरेको थियो ।
यता जिल्लामा भदौ १२ गतेबाट सुरु भएको सवारी सञ्चालनको रोक भदौ ३१ गतेसम्म जारी रहने भएको हो । हिँजो बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सवारी सञ्चालनको रोकलाई एक साता लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार जिल्लामा हाल १२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ११ जना फिदिम स्थित आइसोलेसनमा तथा एक जना धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । जिल्लामा हालसम्म २४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।