

फिदिम । दैनिक करीब एक हजार नयाँ कोरोना सङ्क्रमित थपिइरहेको नेपालमा कूल सङ्क्रमितको संख्या ५० हजार कटेको छ । विगत २४ घण्टामा १,२४६ जना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको संख्या ५० हजार नाघेको हो ।
बिहीवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५०,४६५ र निको हुनेको सङ्ख्या ३५,७०० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ ।
अहिलेसम्म नेपालमा ३१७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । अहिले नेपालमा १४,४४८ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,४३८ घरमै छन् भने बाँकी ८,०१० संस्थागत आइसोलेशनमा छन् ।
सङ्क्रमितहरूमध्ये १६५ जना सघन उपचार कक्षमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारन्टीनमा ५,६०७ जना रहेका छन् । यो अवधिमा ११,१४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
बिहीवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डौँ जिल्लाका ४९५ जना रहेका छन् । भक्तपुरमा ३४ र ललितपुरमा ४३ गरी उपत्यकाका जिल्लामा कुल ५७२ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै सप्तरीमा ३५, सर्लाहीमा ४२, काभ्रेमा ३६, मकवानपुरमा ३५, कपिलवस्तुमा ४४, नवलपसारीमा ३७, बाँकेमा ७० र रूपन्देहीमा ५१ जना सङ्क्रमित थपिएका छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाण्डौँ, चितवन र रूपन्देही रहेका छन् । सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
बिहीवार मृत्यु पुष्टि भएका मध्ये काठमाण्डौँमा ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन् । त्यस्तै चितवनका ६२ वर्षीय र कपिलवस्तुमा २९ वर्षीय पुरुषको पनि गत २४ घण्टामा मृत्यु भएको छ ।