छात्रालाई करणी गरेको आरोपमा प्रिन्सिपल पक्राउ



पाँचथर, २५ भदौ

कक्षा ७ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम स्थित निलकण्ठ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।

पीडित भनिएकी १४ वर्षीया छात्राका आफन्तको जाहेरीका आधारमा उक्त विद्यालयका प्रिन्सिपल कुलराज सुब्बालाई प्रहरीले हिँजो फिदिमबाट पक्राउ गरेको हो । प्रिन्सिपल सुब्बामाथि विद्यालयको छात्राबासमा बस्दै आएकी छात्रामाथि भदौ २० गते राती जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

छात्राका आफन्तले प्रहरीमा दिएको उजुरीमा घरैमा रहेकी छात्राका आफन्तलाई प्रिन्सिपल सुब्बाले करीब १५ दिन अघि फोन गरी ट्युसन कक्षा सञ्चालन भइरहेकाले विद्यालय पठाउन भनेका थिए । छात्राबासमा बसेपछि प्रिन्सिपल सुब्बाले आफूमाथि अनैतिक ब्यवहार गर्दै आएको छात्राले बयान दिएकी छन् ।

बुधवार पक्राउ परेका प्रिन्सिपल सुब्बालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । पीडित भनिएकी छात्राको फिदिम स्थित जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ ।

यसैवीच निलकण्ठ इङ्लिस बोर्डिङ स्कुलको सञ्चालक समितिले प्रिन्सिपल सुब्बामाथि गम्भीर नैतिक प्रश्न उठेको र उनीमाथि प्रहरी अनुसन्धानमा सघाउ पुर्याउन भन्दै प्रिन्सिपल पदबाट निलम्बन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्