‘अस्पतालबाट डिस्चार्ज सबै कोरोना संक्रमित निको भएका होइनन्’



फिदिम । मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहँदा दश दिनमा १२ हजार ७ सय २२ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो समय देखिएका संक्रमितमा लक्षण सहितका संक्रमण बढन थालेपछि अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दश दिनमा कोरोना संक्रमितको संख्या बढने भन्दा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढेको हो । भदौ १३ देखि २३ गतेसम्मको तथ्यांक हेर्दा मुलुकभर ११ हजार ६ सय ८२ संक्रमित थपिएका छन् । थपिएका संक्रमित भन्दा १ हजार १ सय संक्रमित बढी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन्। सरकारले कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्रै अस्पतालको आइसोलेशनमा बस्न पाउने व्यवस्था गरेको छ ।

कोरोनाको लक्षण तथा चिन्ह नभएका (एसिम्ट्रोमेटिक) र सामान्य लक्षण एवम् चिन्हहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ । १० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरिसकेको छ । संक्रमितको संख्या बढिरहँदा ठूलो संख्यामा दिनहुँ जसो निको हुनेको संख्या पनि बढन थालेको छ ।

सरकारले जारी गरेको परिपत्र अनुसार सबै संक्रमित निको हुँदै गएको हुन् या होइनन् ? भन्ने कुराले जनमानसमा चिन्ता बढाएको छ । संक्रमितको रिपोर्ट पोजेटिभ देखिँदा पनि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गर्दा अझ घातक हुने जनस्वास्थ्यविद्हरुले बताएका छन् । १४ दिनसम्म कोरोना संक्रमितमा पोजिटिभ देखिए पनि लक्षण नदेखिएका लाई अस्पतालले घर पठाउन थालेका छन् । सरकारले जारी गरेको होम आइसोलेसनको मापदण्ड अनुरुप बस्ने व्यवस्था गरेको भन्दै अस्पतालले घर पठाउन थालेका हुन् ।

‘संक्रमितलाई घर पठाउनु सरकारको महाभूल’

संक्रमितमा कोरोना पोजिटिभ देखिएमा अस्पतालबाट डिस्चार्ज गरिएकालाई कोरोनामुक्त भए भनेर बुझ्न नहुने जनस्वास्थ्यविद् डा. सुरेश तिवारी बताउँछन् । अस्पतालमा रहेका संक्रमितमा कुन लेबलको लक्षण देखिएका छन् ? त्यसको राम्रोसँग अध्ययन गरेर मात्रै डिस्चार्ज गरिनुपर्ने उनले बताए । सरकारले संक्रमितको रिपोर्ट पोजेटिभ देखिँदा पनि घरमा पठाउनाले घर परिवार र समुदायमा कोरोनाको उच्च जोखिम हुने गरेको उनको भनाइ छ ।

संक्रमितको मनोस्वास्थ्य र सामाजिक अवस्था कस्तो छ ? त्यसलाई विचार गरी अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने उनले सुझाव दिए । संक्रमण भएर लक्षण नदेखिएमा त्यस्तालाई उचित सल्लाह दिएर होम आइसोलेसनमा बस्ने गरी परामर्श दिएर पठाउनुपर्ने उनले प्रस्ट पारे । ‘संक्रमितमा १० दिनसम्म भाइरस सक्रिय हुने गरेको छ,’ उनले भने ‘घर पठाउँदा संक्रमितलाई पुनः परीक्षण गरेर पठाएमा जोखिम हुँदैन । लक्षण भएको वा पोजेटिभ संक्रमितलाई पठाउने गरिएको छ भने त्यो महाभूल हुनेछ ।’

संक्रमितमा लक्षण नभए वा नेगेटिभ देखिएमा सातदेखि दश दिनमा परीक्षण गरेर अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने उनले जानकारी दिए । संक्रमितको संख्या बढिरहँदा अस्पतालमा निको हुनेको संख्या बढ्नुपर्ने उनले बताए । ‘संक्रमण बढने तर, संक्रमित निको नहुने हो भने त्यसलाई कोरोना नियन्त्रण भएको मान्न नसकिने उनको भनाइ छ ।

‘कोरोना पोजेटिभमा लक्षण नदेखिए घर पठाउँछौ’

पोजेटिभ देखिएका संक्रमितलाई १४ दिनसम्म होम आइसोलेसनमा बस्न निर्देशन गरी अस्पतालबाट डिस्चार्ज गरिएको बलम्बु स्थित शशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले बताउँछन् । हरेक संक्रमितको ९ देखि १० दिन पुनः परीक्षण गरिने गरिएको र रिपोर्ट नेगेटिभ आएमा १० दिनमा पठाउने गरिएको उनले बताए ।

‘लक्षण भएका संक्रमितलाई बढी संक्रमितलाई १६ दिनदेखि २१ दिनसम्म राख्ने गरिएको छ,’ डा. नेपालले भने, ‘१० दिन सम्म भाइरस सक्रिय भएपनि अरु दिनमा भाइरस सक्रिय हुन सक्दैनन् । परीवार र संक्रमितको इच्छा बमोजिम होम आइसोलेसनमा बस्ने गरी पठाउने गरीएको छ ।’

५० प्रतिशत पोजेटिभ संक्रमितलाई होम आइसोलेसनमा बस्न दिने गरी डिस्चार्ज गरिएको उनले बताए । शुक्रराज अस्पतालमा गम्भीर अवस्थामा रहेका वा लक्षण भएका संक्रमितलाई तीन सातासम्म राखिने गरिएको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले बताए ।

संक्रमितलाई पुनः परीक्षण गरेपछि १० देखि ७ दिनमा अस्पतालबाट डिस्चार्ज गरिएको उनको भनाइ छ । उनले भने, ‘१४ दिन सम्म लक्षण भएका संक्रमितमा पोजिटिभ देखिएपनि डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएका सबै संक्रमित निको भएर गएका हुँदैनन् । घरको होम आइसोलेसनमा बस्ने सर्तमा पठाइएको छ ।’

‘लक्षण नभएकालाई अस्पतालमा राख्न मिल्दैन’

संक्रमितमा १० देखि १४ दिनसम्म भाइरस सक्रिय रहने भएकोले पोजेटिभ आए पनि जोखिम नहुने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । संक्रमितमा भाइरसको केही अंश बाँकी रहे पनि त्यसले स्वस्थ मानिसमा असर धेरै असर नगर्ने उनले बताए ।

धेरै संक्रमित डिस्चार्ज भएका छन नि भन्ने प्रश्नमा उनले भने, ‘संक्रमित डिस्चार्ज भएका हुन् । लक्षण नभएका संक्रमितलाई अस्पतालमा राख्न मिल्दैन । संक्रमितको दर बढ्दै गएकोले पनि लक्षणविहीन संक्रमितलाई अस्पतालमा नराख्न निर्देशन दिएका छौँ ।’ (थाहाखवरबाट)

प्रतिक्रिया दिनुहोस्