पाँचथर अस्पतालमा आइसीयू र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट



पाँचथर, १३ भदौ

फिदिम स्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रु. दुई करोड बजेट विनियोजन गरेको छ

पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा यस अस्पतालमा १० शैय्याको आइसीयू तथा पाँच वटा भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो ।

पाँचथर सहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावाश्यक रहेकाले संघीय सरकारबाट उक्त बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले वताउनुभयो ।

“कोभिड—१९ सङ्क्रमणको महामारीले हाम्रा सबै स्वास्थ्य संस्थाहरुलाई सवल बनाउने शिक्षा दिएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “दुर्गमका विरामीलाई टाढा पु¥याउनुपर्ने बाध्यता हटाउन उचित बजेटको प्रवन्ध गर्दै जान्छौँ । मन्त्रालयबाट उक्त बजेट कार्यान्वयनका लागि अख्तियारी पठाइएको र कोभिड—१९ को महामारी लामो समय रहे सङ्क्रमितहरुको उपचारमा सहयोग पुग्ने मन्त्री नेम्वाङले विश्वास ब्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख एवम् जिल्ला अस्पताल सञ्चालक समितिका संयोजक विष्णुप्रसाद सापकोटाले उपलब्ध बजेटको शीघ्र कार्यान्वयनमा जोड दिइने वताउनुभयो । “एक त हामी महामारीसँग जुधिरहेका छौँ, अर्को हामी दुर्गममा रहेकाले अत्याधुनिक सेवा लिन लामो यात्रा गर्नुपर्ने तथा ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ”, सापकोटाले भन्नुभयो, “तीनै तहका सरकारको प्रयासले अस्पतालमा आधुनिक सेवा विस्तार गर्ने कार्यले पूर्णता पाउनेछ ।”

संघीय संरचनाअनुसार प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनको जिम्मेवारी पाएको छ । हाल २० शैय्याको अस्पताल ५० शैय्यामा रुपान्तरित भइरहेको छ । जसअनुसार नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

“सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटर जडानका लागि बजेट प्राप्त भएपछि नयाँ भवन चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्न जोड दिएका छौँ”, जिससका प्रमुख सापकोटाले भन्नुभयो, “कामदार तथा प्राविधिकहरुलाई कोभिड—१९ सङ्क्रमणबाट जोगिँदै शीघ्र निर्माण सम्पन्न गर्ने तयारीमा छौँ ।”

शैय्या विस्तारसँगै चिकित्सक तथा प्राविधिक जनशक्ति समेत थपिने सापकोटाले वताउनुभयो । जिल्ला अस्पतालमा आधुनिक प्रविधिका उपकरण तथा दक्ष जनशक्तिको प्रवन्ध हुने भएपछि जिल्लावासीले खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्