पाँचथर तीन प्रहरी र एक विदेशबाट फर्केका ब्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि



पाँचथर, १० भदौ

पाँचथरमा तीन जना प्रहरी र भारतबाट फर्केका एक जना ब्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी तथा भारतबाट फर्केर फिदिम स्थित क्वारेन्टिनमा बसेका एक ब्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । गएराती प्राप्त रिपोर्टमा उनीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले वताउनुभयो । गत साउन २४ गते विराटनगरबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय आएका एक प्रहरी जवानमा भदौ ४ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

भदौ ५ मा उक्त कार्यालयमा कार्यरत थप ४६ जना प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामा तीन जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो । सङ्क्रमित प्रहरीमध्ये २६ वर्षका दुई तथा २३ वर्षका एक जना छन् भने भारतबाट आएका ५५ वर्षीय ब्यक्ति छन् । भारतबाट उनीहरु सबैलाई फिदिम स्थित आइसोलेसनमा राखी उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार पन्ध्र दिन अघि अन्यत्रबाट सरुवा भई आएका दुई जना तथा जिल्ला प्रहरी कार्यालयमै रहेका एक जना प्रहरीमा सङ्क्रमण देखिएको हो । “सरुवा भई आएका जवानबाट अरुमा सङ्क्रमण भएको हाम्रो अनुमान छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । एक जना जवानमा सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरीहरुलाई सर्वसाधारणसँगको सम्पर्कबाट टाढा राख्ने प्रयास गर्दै आएको थियो ।

पाँचथरमा हालसम्म १३ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । जसमध्ये विदेशबाट फर्केका पाँच जना उपचारपछि घर फर्किसकेका छन् । तीन जना सक्रिय सङ्क्रमितलाई जिल्ला बाहिर राखिएको छ भने पहिलो पटक चार जना सङ्क्रमितको फिदिममै उपचार थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्