तेह्रथुममा समुदायका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि



पाँचथर, १० भदौ

तेह्रथुममा समुदायका आठ जना ब्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

तेह्रथुममा यसअघि भेटिएका नौ जना सङ्क्रमितको सम्पर्कमा रहेका थप आठ जनामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार उनीहरु म्याङलुङ बजारकै ब्यवसायी तथा सर्वसाधारणहरु हुन् । उनीहरुको स्वाब धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती परीक्षण गरिएको थियो ।

गत साउन ३१ गते म्याङलुङका ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ मार्फत ७४ जनाको स्वाब लिई परीक्षण गरिएको थियो । त्यस क्रममा नौ जनामा सङ्क्रमण देखिएको थियो ।

कन्ट्रयाक ट्रेसिङ मार्फत नै सङ्क्रमित नौ जनाका १३६ सम्भावित सङ्क्रमितको स्वाब लिई परीक्षण गर्दा गएराती आठ जनामा सङ्क्रमण पुष्टि भएको घिमिरेले जानकारी दिनुभयो । यो सँगै तेह्रथुममा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबैलाई म्याङलुङ स्थित आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्