इनरुवा–बर्दिबास विद्युतीय रेल र काठमाडौं मेट्रो निर्माणमा रुसलाई प्रस्ताव, राजदूत सकारात्मक



फिदिम । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिबास खण्डको निर्माणमा लगानीसहितको सहकार्यका लागि रसियाली राजदूतलाई प्रस्ताव गर्नुभएको छ ।

रसियाली राजदूत एलेक्सी नोभिकोभसँगको भेटवार्ताका क्रममा मन्त्री नेम्वाङले रेलमार्ग निर्माणमा रसियाली प्रविधिसहित लगानीका लागि राजदूतमार्फत् रसियालाई प्रस्ताव गर्नुभएको हो । यसको प्रत्युत्तरमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र यस विषयमा रसियन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रस्तावित यस रेलमार्गको इनरुवा–काकडभिट्टा १०६ किलोमिटर खण्ड रेल विभाग आफैंले ठेक्का निकालेर आन्तरिक स्रोतबाट निर्माण गर्ने गरी अघि बढाएको छ । पूर्वतयारी नै नगरी ठेक्का निकालेर काम सुरु गर्न लागिएको भन्दै यस खण्डको ठेक्काको चौतर्फी आलोचना भइरहेको छ। यससँगै जोडिने अर्को खण्ड इनरुवा–बर्दिवासमा रुस सरकारले सहुलियत ऋण,अनुदान वा अन्य कुनै मोडलमा सहकार्य नेपालले खोजेको हो ।

यस्तै, करिब ५ खर्ब ४७ अर्ब रुपैयाँ अनुमानित लागत रहेको काडमाडौं उपत्यकाको मेट्रो रेल परियोजनामा समेत रुसी सहकार्य सम्बन्धमा राजदूतसँग छलफल भएको बैठकमा सहभागी रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । ७२ किलोमिटर लम्बाईको उक्त मेट्रो परियोजनाको पाँच खण्डमध्ये कुनै पनि खण्डमा उसकै प्रविधि र लगानीसहित सहभागी हुन रुसलाई प्रस्ताव गरिएको हो ।

पाँचवटै खण्डको मेट्रो रेलको सर्वेक्षण पनि भइसकेको छ। पहिलो मेट्रो लाइन सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक रहेको छ । यो १२.१ किलोमिटर दुरीको छ । यसलाई दुवैतिर दुरी बढाएर बुढानिलकण्ठ–नारायणगोपाल चोक–रत्नपार्क–सातदोबाटो–खोकना (करिब २४ किमी) बनाउने विकल्प अघि सारिएको छ ।

मेट्रोको विस्तृत अध्ययनका लागि परामर्शदाता समेत छनोट भइ काम नै सुरु भएको पनि मिश्रले बताउनुभयो । उहाँका अनुसार, आठ महिनासम्ममा सक्ने लक्ष्य राखेर विस्तृत अध्ययनको काम सुरु भएको थियो भने कोभिडले हाल यो रोकिएको छ ।

चोभारमा बन्ने सुक्खा बन्दरगाहसँग जोडिने भएकाले उक्त मेट्रो लाइनलाई प्राथमिकतामा राखेर अघि बढाइएको हो । जहाँ उत्तरी नाका केरुङबाट आउने भनिएको चिनियाँ रेल र दक्षिण रक्सौलबाट ल्याउने प्रस्तावित भारतीय रेलको भेट हुने विन्दूसमेत हुनेछ ।

दोस्रो लाइनः कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट (११.१५ किमी), तेस्रो लाइनः कोटेश्वर–चाबहिल–स्वयम्भु–कोटेश्वर (२८.५३ किमी), चौथोः स्वयम्भु–डिल्लीबजार–बौद्ध (११.७० किमी) र पाँचौः धोबिघाट–सिंहदरबार–नक्साल–गोंगबु १३.८० किमी रहेको छ ।

यो २०१२ मा गरिएको अध्ययन प्रतिवेदन अनुसार हो । त्यतिबेला उपत्यकामा यी पाँच लाइन मेट्रोका लागि सम्भाव्य देखिएका थिए ।

‘रुसमा मेट्रोको ठूलो सञ्जाल छ । ती सफल र सस्टेन छन्,’ मिश्रले भन्नुभयो’ उनीहरुसँग भएको मेट्रो प्रविधि हाम्रा लागि उपयोगी हुन सक्ने भएकाले हामीले सहकार्य गर्न खोजेका हौं । छलफलमा मुख्य एजेण्डा मेट्रो रेल नै थियो ।’ मन्त्री र राजदूतबीचको भेटमा द्विपक्षीय हित तथा पारस्पिरिक सम्बन्धका अन्य विषयमा पनि छलफल भएको थियो ।

नेपालमा खासगरी उद्योग, राजमार्ग लगायतको निर्माणलाई संस्थागत गर्नमा रुसी सहयोगको भूमिका महत्त्वपूर्ण छ । रुसी सहयोगमा यसअघि नेपालमा कान्ति अस्पताल, पनौती हाइड्रोइलेक्ट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिल, रोजिन एण्ड टर्पाईन प्लाण्ट लगायत स्थापना भएका थिए ।

यद्यपि, करिब पाँच दशकयता केही साना बाहेकका विकासका आयोजनाहरुमा रुसले नेपालसँग सहकार्य गरेको छैन । यही पृष्ठभूमिमा ठूला आयोजनाहरुमा रुसी सहकार्यका विषयमा समेत मन्त्री नेम्वाङ र राजदूत नोभिकोभबीच छलफल भएको बताइएको छ ।

मन्त्री नेम्वाङले विश्वव्यापी कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकोमा पनि बधाई दिँदै यसमार्फत विश्व जगतलाई लाभ पु¥याउन पनि रसियाले सहयोग गर्नेमा उनले विश्वास व्यक्त गर्नुभयो । भेटमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र लगायत सहभागी थिए । (बीजमाण्डुबाट)

प्रतिक्रिया दिनुहोस्