सुरुङमार्ग निर्माणका लागि जनशक्ति तयार पारिँदै



फिदिम । मुलुकभित्र सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गरिने भएको छ। हाल सडक सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति छैनन् । अहिलेसम्म जलविद्युतको सुरुङमार्ग निर्माण गर्ने इन्जिनियर मात्रै छन् ।

जनशक्ति अभावका कारण सरकार विदेशीको भर पर्नुपर्ने अवस्था छ । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण अघि बढेपछि सरकारले ६० जना इन्जिनियरलाई तालिम दिने भएको छ ।

सडक विभाग अन्तर्गतको वैदेशिक सहयोग कार्यान्वयन महाशाखाले मन्त्रालयका इच्छुक ६० जना इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिन लागेको हो । महाशाखाका प्रमुख अर्जुनजंग थापाले क्षमता अभिवृद्धिका लागि साइटमै लगेर तालिम दिन लागिएको बताए । उनका अनुसार सैद्धान्तिक र प्रयोगात्मक (प्राक्टिकल) दुवै तालिम दिइनेछ ।

मुख्य सुरुङमार्गको काम सुरु भएसँगै तालिम पनि सुरु गर्ने योजना छ । थापाका अनुसार मुख्य सुरुङको काम सुरु भएकै दिनबाट इन्जिनियरहरुको तालिम पनि सुरु हुनेछ । प्रत्येक दुई सातामा तीन दिन तालिम सञ्चालन हुनेछ ।

’टनेलको मुख्य द्वार कसरी बनाउने रहेछ भनेर फिल्डमा लगेर देखाइन्छ। त्यसपछि सैद्धान्तिक अध्यापन हुनेछ,’ उनले भने,’ अर्को साता दुई सातामा २० देखि ५० मिटरसम्म सुरुङमार्गको काम हुन्छ । त्यहाँ पनि प्रयोगात्मक नै देखाइन्छ ।’

आयोजना निर्माण अवधिभर तालिम सञ्चालन हुने जानकारी उनले दिए । ‘टनेलको मुख निर्माणदेखि फिनिसिङसम्मको काम देखाउने योजना छ,’ उनले भने, ‘सुरुङमार्ग सम्बन्धी सबै खालका ज्ञान दिइनेछ ।’ तालिम जापानी र नेपाली प्रशिक्षकले दिनेछन् ।

‘हाम्रो जियोलोजिकल सोसाइटीका जलविद्युतको सुरुङमा काम गरेका इन्जिनियर र जापानी इन्जिनियरले पढाउने छन्,’ थापाले भने । नागढुंगा–नौबिसे सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग पनि हो । यो सुरुङमार्ग निर्माण पूरा भएसँगै नेपालमा आवश्यक जनशक्ति तयार हुने विश्वास लिइएको छ ।

उनका अनुसार तीन वर्षमा सुरुङमार्ग निर्माण गर्ने जनशक्ति तयार हुनेछन् । कोरोना संक्रमणसँगै यो सुरुङमार्गको कामले गति भने लिएको छैन । सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिइसकेको छ । नेपाली सेना ब्लास्टिङका लागि आवश्यक विस्फोटक पदार्थ दिन सहमत भइसकेको छ ।

यो सुरुङमार्ग निर्माण भएपछि नेपाली सक्षम हुने उनको दाबी छ । त्यस्तै महाशाखा प्रमुख थापाकै संयोजकत्वमा सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड समेत तयार भएको छ । उक्त मापदण्ड मन्त्रिपरिषद्ले समेत स्वीकृत गरिदिएको छ ।

उक्त योजना अघिसम्म नेपालमा सुरुङमार्ग निर्माण सम्बन्धी कुनै मापदण्ड थिएन । नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्राष्ट्रिय मापदण्डका आधारमा निर्माण अघि बढाएको हो । (बीजमाण्डुबाट साभार)

प्रतिक्रिया दिनुहोस्