वीरगन्जका मेयर सरावगीले जिते कोरोना



फिदिम । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) विजय सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । मेयर सरावगीले संक्रमण पुष्टि भएको २५ दिनपछि कोरोनालाई जितेका हुन् ।

‘उहाँलाई कुनै लक्षण पनि नदेखिएपछि हिजो(आइतबार) स्वाब परीक्षण गरिएको थियो,’ महानगरका गुनासो सुनुवाइ अधिकारी अरुण महतोले भने, ‘हिजो नै रिपोर्ट आयो नेगेटिभ भनेर ।’ यता गुनासो सुनुवाइ अधिकारी महतो र परिवारका अन्य २ सदस्यलाई कोरोना देखिएकोले होम आइसोलेसनमा छन् ।

मेयर सरावगीको आइतबार नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनी २५ दिन केही दिन काठमाडौं र केही दिन वीरगन्जमा होम आइसोलेसनमा थिए । ‘नगरपालिकाको धेरै काम रोकिएको थियो,’ महतो भन्छन्, ‘मेयर साप ठिक हुनु भयो अब कामहरु पनि अघि बढ्छ ।’

वीरगन्जकै विभिन्न गाउँमा राहत वितरणका लागि पुग्दा मेयर सरावगी संक्रमित भएको खुलेको थियो । उनी संक्रमित भएपछि उनको सम्पर्कमा आएका उनका बुवा, आमा पत्नी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख तथा गुनासो अधिकारी महतो र चार वटा वडाका अध्यक्षहरू संक्रमित भएका थिए । महतोलगायत केही अझै होम आइसोलेसनमा छन् भने केही ठिक भएर काममा फर्किसकेका छन् ।

मेयरका बाबुको स्वास्थ्यमा सुधार भएन

मेयर सरावगीले आफू र आफ्ना परिवारका सदस्य कोरोनाबाट मुक्त भए पनि बाबुको स्वास्थ्यमा सुधार नभएको बताएका छन् । मेयर सरावगीले फेसबुकमा लेखेका छन्, ‘कोरोना भाइरस विरुद्धको अभियानमा रहेको अवस्थामा म कोभिड १९ बाट संक्रमित हुन पुगेको कुरा यहाँहरुलाई जानकारी नै छ, काठमाडौंस्थित एउटा अफिसियल बैठकमा भाग लिन जाने क्रममा अचानक बिरामी भएपछि परीक्षण गर्दा मिति २०७७ साउन १४ गते मलाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि करिब १२ दिन अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । कोभिडबाट मेरो सम्पूर्ण परिवारसमेत संक्रमित भएका थिए ।’

आइतबार वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा कोरोना नभएको रिपोर्ट आएको उनले बताए । ‘वीरगन्ज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना नभएको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँछु,’ उनले भने, ‘मेरो परिवारका सबै सदस्य यसअघि नै कोरोना मुक्त भैसकेका छन तर मेरो पिताजीको अहिले काठमाडौ स्थित ग्राण्डी अस्पतालमा अतिसघन कक्षमा राखेर उपचार भइराखेको छ । उहाँ स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन ।’

उनले आफू संक्रमित भएर अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, हौसला बढाउने जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई आभार व्यक्त गरेका छन् । मेयर सरावगीले वीरगन्ज यतिबेला कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा रहेको पनि बताएका छन् ।

‘कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु हुनु भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दछु साथै शोकमा रहनु भएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, उनले भनेका छन्, ‘उपचारार्थ अस्पताल र होम आइसोलेसनमा रहनु भएका महानुभावहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्