

फिदिम । जनकपुर–जयनगर गुड्ने रेल तयार भएको छ । रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो ।
विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर–हाजिपुरमा आइपुगेको छ । तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए ।
यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो । यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ । मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो ।
विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो । दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताए ।
‘एउटा रेल नेपाली बोर्डरभन्दा दुई तीन घन्टा पर पटनाको सोनपुर–हाजिपुर क्षेत्रमा आइपुगेको छ, कोभिड–१९ का कारण नेपालसम्म ल्याउन सकिएको छैन,’ उनले भने । यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ ।
रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ । रेललाई फर्काइराख्नु पर्दैन । दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए ।