

पाँचथर, ६ भदौ
कोभिड–१९ सङ्क्रमणका कुनैपनि लक्षण नदेखिएका सङ्क्रमतिहरुलाई अव जिल्लामै राखिने भएको छ ।
शुक्रवार बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्यमा समस्या नभएका र लक्षण नदेखिएका सङ्क्रमितहरुलाई जिल्लामै राख्ने निर्णय गरेको हो । प्रदेश नं. १ मा कोभिड–१९ का सङ्क्रमितको संख्या क्रमशः बढ्दै गएको छ ।
सङ्क्रमितको संख्या बढेसँगै उपचारका लागि तोकिएका अस्पतालहरुमा बेडको अभाव भएकाले सकेसम्म जिल्लामै सङ्क्रमितको उपचार गर्न प्रदेश मातहतका निकायको अनुरोधपछि बैठकले उक्त निर्णय लिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकका अनुसार बैठकले फिदिम स्थित शिक्षा स्रोत केन्द्रमा सञ्चालित क्वारेन्टिनलाई २० बेडको आइसोलेसन कक्षमा परिणत गर्ने निर्णय गरेको छ ।
आइसोलेसन कक्ष निर्माणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, प्राविधिक जनशक्ति तथा सुरक्षाको प्रवन्ध गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, फिदिम नगरपालिका र सुरक्षा निकायहरुलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।
यसअघि यहाँ भेटिएका सङ्क्रमितहरुलाई कोशी अस्पताल विराटनगर, कोभिड–१९ विशेष अस्पताल मोरङ, कोभिड–१९ उपचार केन्द्र इलाम पठाइदै आएको थियो । सङ्क्रमितलाई आइसोलेसन तथा उपचारको प्रवन्धका लागि हारगुहार गर्नुपर्ने समस्या रहेको सम्वद्ध निकायहरुले गुनासो गर्दै आएका थिए ।
जिल्ला भित्रै हालसम्म आठ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच जना उपचारपछि निको भई घर फर्किसकेका छन् । तीन जना सक्रिय सङ्क्रमितहरु मध्ये एक जना विदेशबाट आएकी महिला, एक जना मोरङ घर भएका सडकका कामदार र एक जना प्रहरी जवान छन् ।
हिँजो मात्रै जिल्ला प्रहरी कार्यालय पाँचथरका एक जना प्रहरी जवानमा सङ्क्रमण देखिएको थियो । उनी विराटनगरबाट सरुवा भई साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । उनलाई कार्यालय भित्रै क्वारेन्टिनमा राखिएको थियो ।