परीक्षण बढ्दा झन् धेरै भेटिए संक्रमित, पछिल्लो २० दिनमै ६ हजार थपिए



फिदिम । सरकारले लकडाउन खुलाएको २० दिनमा १ लाख ४५ हजार ७ सय ४ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पिसिआर परीक्षण भएको सरकाले बताएको छ । लकडाउन खुलाएपछि संक्रमितको संख्या भने बढदै गएको छ । जति धेरै परीक्षण त्यति नै संक्रमित संख्या थपिँदै गएको हो ।

२० दिनमै नयाँ संक्रमित ६ हजार ३ सय ३८ भेटिएका हुन् । यो समाचार तयार पार्दासम्म लकडाउन खुलेपछि निको हुने संक्रमित संख्या ४ हजार ४४ पुगेको छ ।

यसैगरी सबैभन्दा बढी पिसिआर परीक्षण १६ गते भएको थियो । १० हजार ७ सय ६८ जनाको परीक्षण गरेको हो । २ सय २४ जनामा कोरोना पुष्टि भएको थियो ।

सरकारले लकडाउन खुलेदेखि तीन दिन मात्र १० हजारभन्दा माथिको परीक्षण गरेको छ । तीन दिनमा ३१ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा १ हजार ३ सय ४६ मा कोरोना पुष्टि भएको थियो । १६ गते १० हजार ७ सय ६८, २७ गते १० हजार ४ सय ६२ र २८ गते १० हजार ४ सय ८१ जनाको परीक्षण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० गते सबैभन्दा थोरै पिसीआर परीक्षण गरिएको थियो । उक्त दिन ३ हजार ३ सयको पिसिआर परीक्षण गरेको थियो । १ सय ३० जनामा कोरोना पुष्टि भएको थियो ।

सबैभन्दा बढी परीक्षण गरिएको आठ दिनअघि १ हजार ४ सय ५३ जनामा कोरोना पुष्टि भएको थियो । आठ दिनमा ३६ हजार ७ सय ६७ को परीक्षण गरिएको थियो । सरकारी तथ्यांकअनुसार जति धेरै परीक्षण ग¥यो, त्यति नै संक्रमित संख्या बढदै जाने देखिएको छ ।

लकडाउन खुलेपछि सरकारले पिसिआर परीक्षण संख्या पनि बढाएको छ । दैनिक ३ हजारमाथि पिसिआर परीक्षण गर्दै आएको हो । लकडाउन खुलेयता २० दिनमा ६ हजार ३ सय ३८ संक्रमित बढेका छन् । यसको एउटै मात्र कारण पिसिआर परीक्षणको दायर बढाउनु हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार लकडाउन खुलेयता ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । “संक्रमितको सम्पर्कमा आएकाको परीक्षण हुँदैछ” कोरोना पुष्टि भएका संक्रमितसँगको सम्पर्कमा आएका मानिसको परीक्षण पहिलो प्राथमिकतामा पर्ने सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले बताए ।

पिसिआर परीक्षण दर बढाउन थालिएको र अहिले गरिएको परीक्षण सबै संक्रमितको सम्पर्कमा आएका तथा कोरोना आशंका लागेका मानिसको कोरोना परीक्षण गरिएको उनले बताए । प्रवक्ता गुरागाईंले भने, “भारत र क्वारेन्टाइनमा बसेका मानिसको परीक्षण गरिएको छ । संक्रमण आशंका भएकालाई विशेष प्राथमिकता दिएर परीक्षण गरिएको हो ।”

दैनिकजसो पिसिआर परीक्षण बढाउन थालिएको उनी सुनाउँछन् । परीक्षणको दायरामा रहेका सबै मानिसलाई परीक्षण गरिने उनको भनाइ छ । संक्रमित बढेसँगै परीक्षण दायरा बढाइयो चैत ११ देखि लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते खुलाइयो ।

तर संक्रमण रोकिने दर घटेन । सँगै सरकारले पिसिआर परीक्षणको दायरा पनि बढाउँदै लगिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बासुदेव पाण्डे बताउँछन् ।

डा. पाण्डे भन्छन्, “परीक्षण दायरा बढाउँदै लगिन्छ । अहिले गरिएको परीक्षण भनेको संक्रमित बढेर गरिएको हो ।” जहाँ–जहाँ संक्रमितको आशंका गरिएको छ त्यहाँ मात्र परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्