नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २५ हजार नजिक



फिदिम । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २५ हजार नजिक पुगेको छ । गएको २४ घण्टामा थप ५२५ जना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमितको संख्या २५ हजार पुग्न लागेको हो ।

गएको २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ । यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् । गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ छ ।

सबैभन्दा धेरै सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,५९९ जना र वागमती प्रदेशमा १,७०३ जना रहेका छन् । बिहीवार पुष्टि भएका सङ्क्रमितहरूमा सबैभन्दा धेरै काठमाण्डौँ जिल्लाका १११ जना र मोरङका ८८ जना रहेका छन् ।

काठमाण्डौँ उपत्यकाका ललितपुरमा ११ र भक्तपुरमा ५ सङ्क्रमित थपिएका छन् । देशभरि सक्रिय सङ्क्रमितहरूमध्ये ४६६ जना घरमै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो ।

त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बिहीवार ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ८३ जना पुरुष र ३२ जना महिला रहेका छन् । सङ्क्रमितहरु मोरङका ८८, सुनसरीका १९, इलामका ४, झापा र उदयपुरका १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा सङ्क्रमितको संख्या १,६२६ पुगेको छ । तीमध्ये ७२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतक सबै मोरङ जिल्लाका पुरुष हुन् ।

गएको २४ घण्टामा ९,८५९ वटा पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४८३,०३८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १०९ जना रोगमुक्त प्रमाणित भएका थिए । अहिले देशभरि क्वारन्टीनमा १४,७६९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्