‘कोरोना लाग्दैमा नआत्तिनू, आत्मबल बलियो भए सजिलै जितिन्छ’



साउन १६ गते जनता समाजवादी पार्टी नेपालका सांसद् प्रदीप यादवलाई कोरोना भारइस संक्रमण भयो । उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका थिए । पर्सा क्षेत्र नम्बर १ का सांसद यादव ११ दिनमै कोरोनामुक्त भए । यी ११ दिनबीचमा कोरोनाविरुद्ध उनले कसरी संघर्ष गरे ? कसरी कोरोनाबाट मुक्त भए ? प्रस्तुत छ सांसद् यादव थाहा खवरले तयार पारेको उहाँको उक्त समय र कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी धारणाः

निदाउन सकिनँ

कोरोना भाइरस (कोभिड–१९) को जग्जगी देशभर नै थियो । कोरोनाको त्रासबीच पनि मैले आफ्नो दैनिकी ठीकठाक चलाइरहेको थिएँ । एक्कासि साउन १४ गते मलाई लगातार खोकी लाग्न सुरु भयो । राति हनहनती ज्वरो पनि आयो ।

दुई दिनसम्म पारा सिटामोल र एन्टिबायोटिक खाएँ । त्यसपछि झाडापखाला सुरु भयो । अनि पो मलाई कोरोना लाग्यो कि भन्ने शंका भयो । साउन १६ गते स्वाब संकलन गर्दा मलाई कोरोना लागिसकेछ । कोरोना लागेपछि छटपटी सुरु भयो । राति निदाउन सकिनँ । अनिदो रातसँगै उज्यालो भयो ।

तर, भोलिपल्टबाट साथीहरूले दिएको हिम्मत र हौसलाले कोरोनासँग लड्न ऊर्जा आयो । आत्मबल बढाउनुको विकल्प थिएन । मैले जित्नु थियो भने साहस र हिम्मत जुटाउनै पर्ने थियो। त्यसपछि मैले कोरोना जित्नैपर्छ भन्ने मिसन बनाएँ ।

अर्गानिक खानामा जोड

कोरोना लागेपछि यससँग लड्न केके गर्नुपर्छ भनेर गुगलमा खोजेँ । रोग लाग्दा कसरी बढ्न सकिन्छ ? आफूलाई लागे पनि अरूलाई हुने जोखिमप्रति ध्यानमा राख्दै मास्क लगाइरहेँ । सामाजिक दूरी कायम गर्न सुरु भयो ।

दैनिकी चलायमान बनाउन बिहान ६ बजे उठेर घरको छतमा आधा घण्टा दौडिन सुरु गरेँ । त्यसपछि व्यायाम । खाली पेटमा बेसार पानी खाएँ । के खाने के नखाने एउटा रुटिन नै बनाएँ ।

हरेक एक एक घण्टामा मौसमी जुस पिउन थालेँ । प्याज, लसुनको दुई पोटीलाई पिँधेर तातोपानीमा हालेर तीन दिनसम्म खाएँ । प्रत्येक तीन–तीन घण्टामा मौसमी जुस, नरिवल पानीका लागि बिहान ६ बजेदेखि बेलुका १० बजेसम्मको दैनिकी बनाएको थिएँ । यो बीचमा खाने बस्ने पढ्ने, पानी पिउने समय पनि मिलाएको थिएँ ।

सबै कुरा गरेपछि अस्पताल नपुगी म घरमा बसेर नै कोरोनाबाट मुक्त भएँ । बाहिर कोरोनाबारे जेजति समाचार र हल्ला फैलिएका छन् । योभन्दा बिलकुल फरक छ । कोरोना लाग्ने बित्तिकै सबै सकिँदैन भन्ने कुरा राज्यले आम जनमानसमा पु¥याउन जरुरी छ ।

कोरोनालाई हिम्मतले जितौँ

कोरोना लागेपछि डराएर, हिम्मत हारेर हुँदैन । आफ्नो दैनिकीलाई पहिलेभन्दा बढी चलायमान बनाउन जरुरी छ । कोरोनाविरुद्ध डराएर होइन डटेर लड्न जरुरी छ । अन्य दीर्घरोगीको हकमा फरक होला । तर, जो निरोगी छ । जसलाई कोरोना लागेको मात्र हो। उसले साहसले नै जित्न सकिन्छ ।

बिहान नास्तामा अलिकति स्याउ, टमाटर र पहेँलो फालेको अण्डा खान थालेँ । एक एक घण्टामा मौसमी फलफूलको जुस खान थालेँ । बीचबीचमा अमिलो पानी, मह लगायतलाई प्राथमिकतामा राखेँ ।

दुई वटा प्याज, २२ पोटी दाना सानो आकारको लसुन, डेढ चम्चा नुन, खुर्सानी, थोरै कालो नुनलाई पिसेर तीन भाग बनाएर बिहान बेलुका र दिउसो खाने गरेँ । तुलसीको पात, मरिच, अदुवा पनि थपेर झोललाई कडा बनाउँथेँ ।

कोरोनालाई सजिलै जितिन्छ

कोरोना लागेपछि म एक्लै बस्न थालेँ । दिन सामाजिक सञ्जाल र टेलिभिजन हेरेर कटाएँ । कोरोना लागे पनि त्यसको असर खासै देखिएको थिएन । कोरोनालाई लिएर सामाजिक संजालमा देखिएको अफवाहले म थप चिन्तित बन्थेँ ।

वीरगन्ज क्षेत्रमा त समुदायमै कोरोना फैलिसकेको भन्ने पनि छ । कोरोना रुघाखोकी जस्तै सम्झेर कोरोनासँग लड्न जरुरी छ । कोरोना लागेपछि तहसनहस हुन्छ भन्ने बाहिर हल्ला, हल्ला मात्रै छ ।

कति जनालाई लागेर पनि निको भइसकेको होला । कोरोनाको औषधि छैन भनेर विश्व नै अहिले त्रासमा छ । कोरोनाको मात्र होइन, विश्वमा धेरै रोगको औषधि छैन । ती रोग लागे पनि रोगलाई कमजोर बनाउने भनेको आत्मबलले नै हो ।

अफवाहले झन् तनाव

सामाजिक सञ्जालमा देखिएको अफवाहले बिरामीको हौसला टुट्छ । सामाजिक सञ्जाल नहेर्नु नै अहिलेका लागि बेस हुन सक्छ । अनावश्यक चिन्ताले गरिएका फोनले पनि कोरोनाको रुप नै उच्च नै हो कि भन्ने पनि हुन्छ ।

त्यसतर्फ भने बिरामी स्वयम् सचेत हुन जरुरी छ । कोरोनालाई रुघाखोकी जस्तै हो भनेर अगाडि बढे मात्रै जित्न सकिन्छ । सोचमा परिवर्तन आएमा जित सुनिश्चित छ ।

सरकारले जनताको विश्वास जितेन

कोरोना लागेपछि म आफ्नै घरमा बसेँ । सबै आवश्यक तत्वहरु सहज उपलब्ध थिए । छुट्टै कोठा, शौचालय, हल थियो । सबै नेपालीको त्यो अवस्था छैन । राज्यले २२ हजार बिरामीलाई व्यवस्थापन गर्न सकेन । यो चुनौतीबाट सरकार चुक्नु हुँदैन थियो ।

मेरै सहरमा पनि कोरोनाको ‘हटस्पट’ बनेको छ । कोरोना संक्रमितहरू घर घरमा रहेका छन् । शौचालयदेखि खानासम्मको समस्या छ । यो कठिनाइ र चुनौतीमा राज्यले जनतामाथि र जनताले राज्यमाथि भरोसा दिनुपर्छ । राज्यले जनतालाई राज्य छ भन्ने महसुस गराएको छैन । यो राज्यको कमजोरी हो । (थाहाखबर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्