सांसद यादवले घरैमा बसेर ११ दिनमै जिते कोरोना



फिदिम । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ११ दिनसम्म घरैमा आइसोलेसनमा बसी कोरोनाभाइरसलाई जितेका छन् ।

जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद् यादवले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन् । डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन् ।

“डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर बस्नुपर्ने भएको हुनाले म घरमै होम आइसोलेसनमा रहन्छु”, उनको फेसबुकमा लेखेका छन् । साउन १६ गते सांसद् यादवमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्