

बिराटनगर । प्रदेश १ मा एकै दिन अहिलेसम्मकै धेरै कोरोना सक्रमित भेटिएका छन् । यो प्रदेशमा मंगलबार एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका हुन् ।
यो अहिले सम्मकै उच्च संख्या भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसअनुसार मोरङ जिल्लामा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए ।
उनका अनुुसार झण्डै १५ सयको पीसीआर परीक्षण गर्दा ९८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । जसमध्ये विराटनगरका मात्रै ५० जना छन् । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष संक्रमित भेटिएका छन् ।
त्यस्तै सुनसरीको एक स्थानीय तह (नाम नखुलेका) १ महिला १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।