थप ६३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, थप चार जनाको मृत्यु



फिदिम । नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ ।

यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमित छ ।

अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । विगत २४ घण्टामा १७१ निको भएका थिए । विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

मन्त्रालयले सोमवार ३३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौँ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्