

फिदिम । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ ।
यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन् ।
गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ । सबैभन्दा सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,१४४ जना र वागमती प्रदेशमा १,२१० जना रहेका छन् ।
सोमवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै सङ्क्रमित बाँकेका ६३ जना रहेका छन् । त्यसपछि काठमाण्डूका ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डू उपत्यकाका ललितपुर र भक्तपुरमा चार–चार जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै रौतहटका ३१, पर्साका २२, मकवानपुरका २३ र सर्लाहीका २१ जनामा सङ्क्रमण देखिएको छ । सोमवार पुष्टि भएका मृतकहरू दुई पुरुष र दुई महिला रहेका छन् ।
बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको हो । उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी भएको एवम् मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए ।
पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भएको हो । उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाण्डूको मध्य–बानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको हो । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।
कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ । उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ । गएको २४ घण्टामा ८,४३२ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ४५२,२३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १४० जना रोगमुक्त प्रमाणित भएका थिए ।
अहिले देशभरि क्वारन्टीनमा १०,७५९ जना छन् । अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ ।