पाँचथरमा एक हजार बढीको पीसीआर परीक्षण



पाँचथर, २५ साउन

पाँचथरमा हालसम्म एक हजार जनाभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार शनिवारसम्म यहाँ एक हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँच जनामा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं. १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोनाभाइरसलाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जनप्रतिनिधिहरुले विशेष भूमिका खेलेपछि सङ्क्रमणको सम्भावना उच्च नरहेपनि यहाँ ठूलो सङ्ख्यामा पीसीआर परीक्षण गरिएको हो । यहाँ अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु सहित केही जनप्रतिनिधिहरुको समेत पीसीआर परीक्षण गरिएको छ ।

पाँचथरमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पीसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो संख्यामा परीक्षण सुरु भएको थियो ।

यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकामा पछिल्लो पटक जिल्ला स्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रवन्ध गरेका हुन् । जिल्लाका फालेलुङ, याङवरक, फिदिम लगायत स्थानीय तहले स्वाब परीक्षण किट गरिद गरी परीक्षणको प्रवन्ध गरेका छन् ।

पाँचथरमा पाँच जनामा कोभिड–१९ पुष्टि भएको थियो र उनीहरु सबै सरकारी उद्धारमा विभिन्न मुलुकबाट फर्केकाहरु थिए । यहाँका पाँचथर क्याम्पस क्वारेन्टिन र फिदिम मावि क्वारेन्टिनमा गरी चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरु मध्ये केही विदेशबाट फर्केका तथा केही सङ्क्रमितको सम्पर्कमा पुगेको आशंका गरिएका ब्यक्तिहरु छन् । क्वारेन्टिनमा रहेकाहरुलाई सरकारी मापदण्डअनुसार क्वारेन्टिनमा राखी स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाउने गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्