थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण, मृत्यु हुनेको संख्या ७५ पुग्यो



फिदिम । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार जनाएको छ ।

यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने संक्रमित व्यक्तिहरूको संख्या २२,९७२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन् ।

शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा. गौतमले बताए । ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड–१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ । उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन । मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा पर्सा, रौतहट, महोत्तरी र काठमाण्डू रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

विगत २४ घण्टामा ८,५१५ जनाबाट संकलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए । अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्