हावाहुरीबाट फालेलुङका उच्च पहाडको मकै खेती सखाप



रवीन्द्र काफ्ले
पाँचथर, २४ साउन

तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकै खेतीमा ठूलो क्षति पुगेको छ ।

यहाँका उच्च पहाडी क्षेत्रमा साउन १८ गतेदेखि २१ गतेसम्म निरन्तर ठूलो हावाहुरी चलेको थियो । निरन्तरको वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

हावाहुरीबाट फालेलुङको वडा नं. ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं. २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा ठूलो क्षति पु¥याएको हो ।

“तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन्”, अध्यक्ष केरुङले भन्नुभयो, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।”

हावाहुरीले फालेलुङ–४ का महभीर, गैरीगाउँ, भैंसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्क लगायत टोल तथा वडा नं. ५ का खेदोक, लुहुदिन लगायत टोलमा लगाइएको मकै खेतीमा अत्यधिक क्षति पु¥याएको अध्यक्ष केरुङले जानकारी दिनुभयो । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीहरु समेत लिई २१ गतेबाटै अनुगमन थालेको उहाँले वताउनुभयो ।

हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो । यहाँको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ ।

“सधैँ पनि हावाहुरीले सामान्य क्षति पु¥याउँथ्यो”, वडाध्यक्ष सावदेनले भन्नुभयो, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।” आफ्नो वडामा मात्रै झण्डै चार सय परिवारको मकै खेतीमा क्षति पुगेको आफूले पाएको वडाध्यक्ष सावदेनको भनाई छ ।

“सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं. ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, वडाध्यक्ष सावदेनले भन्नुभयो, “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।” गाउँपालिकाभरिमा करीव १२०० परिवारको मकै खेतीमा हावाहुरीले क्षति पु¥याएको अनुमान गरिएको उहाँको भनाई छ ।

उच्च पहाडी क्षेत्रमा खाद्य वालीमध्ये आलुपछि मकै जिविकोपार्जनको मुख्य स्रोत हो । तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि कृषकहरु निराश बनेका छन् । “केही न केही राहत दिनु प¥यो भन्ने कृषकहरुको माग छ”, वडाध्यक्ष सावदेनले भन्नुभयो, “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन् ।”

गाउँपालिका अध्यक्ष केरुङ कृषकहरुले राहत माग्न थालेको वताउनुहुन्छ । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, केरुङले भन्नुभयो, “भएको मकैमा पनि क्षति पुगेपछि कृषकहरुलाई समस्या पर्ने नै भयो ।”

हावाहुरीबाट मकै खेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको भन्दै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने वताउनुभयो । उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिक महिनामा मात्रै पाक्दछ ।

यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । स्थानीय स्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा रुपमा प्रयोग गर्ने गरिन्छ ।

पछिल्लो समय ब्यावसायिक पशुपालन गर्ने कृषकहरुले पशुको आहाराको रुपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । हावाहुरीले मकै खेतीमा ठूलो क्षति पु¥याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका कृषकहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्