भारतमा २० दिनमा कोरोना भाइरसका १० लाख सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो



भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो ।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो । भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ । तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ ।

सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ । विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ । तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ ।

विश्वभरि कोभिड–१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ । देशको १.३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको केही विज्ञहरूको तर्क छ ।

तर विभिन्न कारणले कोभिड–१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कम देखाइएको सरकारलाई आरोप लागेको छ । दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ ।

भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन् । केही राज्यमा प्रति १० लाख मानिसमध्ये ४०,००० जनाको परीक्षण गरिएको छ भने अन्यत्र ६,००० परीक्षण मात्रै गरिएको छ ।

दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । आन्ध्र प्रदेश सर्वाधिक प्रभावित राज्यको सूचीमा महाराष्ट्र र तामिलनाडुपछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्