बढ्दै कोरोनाका गम्भीर बिरामीः आइसियुमा ६६ जना, भेन्टिलेटरमा तीन जना



फिदिम । नेपालमा कोरोना भाइरसका लक्षणसहितका बिरामीहरु बढ्दै गएका छन् । सरकारले चैत ११ देखि गरेको लकडाउन साउन ६ गते खोलेसँगै नेपालमा कोरोना तीव्र गतिमा फैलिँदै गएको छ ।

पछिल्लो २४ घण्टामा नेपालभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्रै १०६ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमित बढ्दै जाँदा बिरामीहरुलाई आइसियु र भेन्टिलेटरमा समेत राख्नु परेको छ । गौतमका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ ।

त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्नु परेको छ । गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताउनुभयो । जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ ।

अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले जानकारी दिनुभयो । उहाँले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा कोभिड–१९ क्लिनिक पनि सञ्चालनमा रहेको जानकारी दिनुभयो । गौतमले शुक्रबारसम्म कोरोनाबाट ७० जनाको ज्यान गइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्