मेची अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु



फिदिम । झापाको मेची अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचार सुरु भएको छ । प्रदेश सरकार मातहतको झापाको भद्रपुरस्थित अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सुरु भएको हो ।

सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका ४ र बिर्तामोड नगरपालिकाका एक गरी ५ जनालाई मेची अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । यसअघि झापाका संक्रमितलाई मोरङ र सुनसरीको कोभिड अस्पतालमा पठाउने गरिएको थियो ।

प्रदेश १ मा मोरङको विराटनगर स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र र गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा कोरोना संक्रमितको उपचार भइरहेको छ । यस्तै सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा पनि कोरोना संक्रमतिको उपचार हुने गरेको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि झापामा पनि कोरोना संक्रमितको उपचार थालिएको हो । मेची अस्पतालमा संक्रमितको उपचारको लागि २५ बेडको आइसोलेन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार झापामा अहिलेसम्म ३ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ सय १२ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म विदेशबाट आएकाबाहेक ३ जना स्थानीय र ३६ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्