

फिदिम । कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएका विराटनगरका वृद्धको शव मोरङको कानेपोखरी क्षेत्रको जंगलमा अन्त्येष्टी गरिने भएको छ ।
कोशी आस्पतालको आइसोलेशनमा भएको संक्रमितको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले लिएर गएको छ । मृतकको शवलाई नेपाली सेनाको टोलीले सुरक्षितसाथ अन्तेष्टिका लागि लिएर गएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमानलाल दासले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा शवको अन्तेष्टि गर्न लागिएको हो । सोमबार विहान श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका विराटनगर– ५ का ७७ वर्षीय वृद्धको अपरान्ह ३ः१५ बजे मृत्यु भएको थियो ।
अस्पताल पुग्नसाथ कोरोना भएको आशंकामा उनको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट आउनु अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।