सघन उपचार र भेन्टिलेटरमा गरि देशभर कोरानाका ३६ बिरामी



फिदिम । हाल सबभन्दा धेरै गम्भीर हालतका बिरामी बाग्मती प्रदेशमा छन् भने गण्डकी प्रदेशमा कोहीपनि गम्भीर अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।

सोमवार अपरान्ह चारबजेसम्म प्राप्त आँकडा अनुसार देशभरमा कोरोनाभाइरस सङ्क्रमित कुल ३६ बिरामीको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनालाई भेन्टिलेटर आवश्यक परिरहेको सो आँकडामा जनाइएको छ ।

बाग्मती प्रदेशमा २१ जना बिरामी सघन उपचार कक्षमा अनि एकजना भेन्टिलेटरमा रहेको जनाइएको छ । प्रदेश नम्बर २ मा सातजना बिरामी आइसीयुमा छन् भने प्रदेश नम्बर १ मा तीनजना आइसीयु र एकजना भेन्टिलेटरमा छन् ।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक–एकजना बिरामी सघन उपचार कक्षमा उपचाररत छन् । विगतमा अत्यधिक बिरामी लक्षणविहीन पाइएपनि विस्तारै सघन उपचार आवश्यक पर्ने बिरामीको सङ्ख्या बढिरहेको सरकारको आँकडाले देखाउँछ ।

साउन १६ गते मन्त्रालयले दिएको आँकडामा सघन उपचार आवश्यक गम्भीर बिरामीको सङ्ख्या २४ थियो । साउन १४ गते त्यो सङ्ख्या २२ थियो ।

चिकित्सकहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमित कतिपय बिरामीलाई सास फेर्न कठिन हुन थालेपछि सघन उपचार र अझ कतिपयलाई गम्भीर स्थितिमा भेन्टिलेटरबाट कृत्रिम श्वासप्रश्वास गराउनुपर्छ ।

यसअघि मन्त्रालयका अधिकारीहरूले अत्यधिक सङ्ख्यामा सङ्क्रमितहरूमा कुनै लक्षण नपाएको बताएका थिए । “पहिले क्वारन्टीनमा पाइएका सङ्क्रमितहरू अलि युवा उमेरका र बलिया भएकाले गम्भीर बिरामी कम थिए”, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो ।

विस्तारै समुदायमा सङ्क्रमण फैलँदा प्रतिरोधी क्षमता कम भएका अनि वृद्धवृद्धा पनि चपेटामा पर्ने हुँदा आगामी दिनमा गम्भीर बिरामीको सङ्ख्या बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । योसँगै देशभरि अस्पतालहरूमा आइसीयु तथा भेन्टिलेटरका सुविधा बढाउनुपर्ने खाँचो औँल्याइएको छ ।

सोमवारसम्मको आँकडा अनुसार देशभरि हाल कुल सङ्क्रमितको सङ्ख्या २०,७५० छ भने ५७ जनाको ज्यान गएको छ । निको हुनेहरू घटाउँदा सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ५,७३२ रहेको छ । सबैभन्दा धेरै सङ्क्रमितहरू २१ देखि ३० वर्ष उमेर समूहका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया दिनुहोस्