बाढीको वितण्डाः पुल जोखिममा, सडक अवरुद्ध, खेती र जलविद्युत आयोजनामा क्षति (फोटो फिचर सहित)



रवीन्द्र काफ्ले
पाँचथर, १९ साउन

अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ ।

गए रातीदेखि आज दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नांगीन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटरको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिल्लर पछाडिको जमिन आधा भन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।

बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका वडा नं. १ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । फिदिम नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ ।

यस्तै फिदिम नगरपालिका–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।

फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले फेमे खोलाको तटीय क्षेत्रमा रहेको आयोजनाको पाइपलाइन बगाएको हो ।

बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा आयोजनामा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

बाढीले यी आयोजनाको करीब ७० मिटर पाइपलाइन बगाउनुका साथै कजवेमा क्षति पु¥याएको छ । क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना नौ सय ९८ किलोवाट र बिके हाइड्रोपावरका एक सय ५० र २ सय ४० किलोवाट विद्युत् उत्पादन बन्द भएको हो ।

बाढीले फिदिम नगरपालिका वडा नं. १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैंची बगानहरुमा क्षति पु¥याएको छ । फिदिम–११ का नवराज न्यौपानेका अनुसार बाढीबाट २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैंची बगानमा क्षति पुगेको छ ।

बाढीले तटीय क्षेत्रमा कटान गर्नुका साथै केही खेत तथा अलैंची बगान पुरेको छ । दर्जनौँ स्थानीयको खेतबारीमा क्षति पुगेपनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रनाउ न्यौपानेले वताउनुभयो ।

प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारहरुलाई सुरक्षित स्थानमा सर्न आव्हान गरेको छ । कतिपय स्थानमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रियतामा जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम समेत सुरु भएको प्रनाउ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्