जिल्ला प्रवेशमा कडाईः पहिले आलोचना, अहिले वाहवाई



पाँचथर, १५ साउन

बन्दाबन्दी र कोभिड–१९ सङ्क्रमणको महामारीबाट प्रभावित भएका २४४ जना ब्यक्तिहरु भारत सहित विभिन्न मुलुकबाट हवाई उद्धार तथा सीमा नाका हुँदै गृहजिल्ला आइपुगे । जसमध्ये भारतबाट फर्कने २१९ जना तथा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा रहेका २२५ जना ब्यक्तिहरु यहाँ आइपुगेका थिए ।

तर असार मसान्तसम्ममा यहाँका क्वारेन्टिनमा कूल २ हजार १२९ जना ब्यक्तिहरु बसिसकेको सरकारी तथ्याङ्क छ । क्वारेन्टिनमा बस्नेको संख्या यति ठूलो हुनुका मुख्य कारण हुन्, जिल्ला प्रवेशमा कडाई र जिल्ला बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्ने ब्यवस्था ।

कोभिड–१९ को महामारी रोकथामका लागि बन्दाबन्दी सुरु भएपछि जिल्ला सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले जिल्ला प्रवेशमा कडाई गर्ने निर्णय ग¥यो । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको विशेष जोडमा उक्त निर्णय कार्यान्वयनमा आयो ।

यससँगै जिल्ला बाहिरबाट आउनेहरु सबैलाई क्वारेन्टिनमा राख्ने र आरडीटी वा पीसीआर परीक्षणपछि मात्रै घर पठाउन थालियो । यही कारण जिल्लाका ४२ वटा क्वारेन्टिनमा उक्त संख्यामा मानिसहरुलाई राखी परीक्षणपछि घर पठाइयो ।

यस्तै अत्यावाश्यक बाहेक ढुवानीका साधन सञ्चालनमा समेत रोक लगाउने, राती नौ बजेपछि सवारी सञ्चालनमा रोक लगाउने लगायत निर्णय पनि कार्यान्वयनमा आए । प्रजिअ शर्माको उक्त निर्णयको जिल्लामा निकै ठूलो आलोचना भयो । क्वारेन्टिन सञ्चालन र ब्यवस्थापनमा स्थानीय तहले ठूलो ब्ययभार पनि भोग्नुप¥यो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिक रुपमै कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनमा लागेको खर्च ब्यहोर्न नसकिने जवाफ समेत दिए । छिमेकी जिल्लाहरुले स्वदेशबाटै आउनेहरुलाई सिधै घर जान दिइरहँदा पाँचथर भने क्वारेन्टिन राख्ने प्रवन्ध ठिक नभएको धेरैको तर्क थियो ।

बन्दाबन्दी खुकुलो भएसँगै सवारी सञ्चालन तथा आवत–जावत सहज भयो । कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रुपमा बढ्दै गयो । पाँचथरसँग सीमा जोडिएका इलाम र तेह्रथुम तथा दैनिक आवत–जावत हुने झापामा सङ्क्रमितको संख्या बढेसँगै यहाँ विगतमा लागू भएको प्रवेशमा कडाईको निर्णयको प्रसंशा गर्न थालिएको छ ।

समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलन नदिन जिल्ला भित्र प्रवेशमा कडाई तथा क्वारेन्टिनमा बस्ने प्रवन्ध मिलाइएको प्रजिअ शर्माको भनाई छ । “मैले धेरै गाली पनि खाएँ । तर समुदायमा सङ्क्रमण फैलन नदिन त्यो काम गर्नु मेरो दायित्व थियो”, प्रजिअ शर्माले भन्नुभयो, “त्यति नगरेको भए समुदायमा सङ्क्रमण फैलन सक्थ्यो ।” तर अहिले विगतको जस्तै कडाई गरियोस् भन्ने आम जनचाहना रहेको प्रजिअ शर्मा वताउनुहुन्छ ।

हालसम्म जिल्लामा ८६८ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई हजार दुई सय बढीको आरडीटी परीक्षण गरिएको छ । पीसीआर परीक्षणबाट पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये चार जना निको भई घर फर्किसकेका छन् । प्रशासन, स्थानीयवासी र अग्रभागमा काम गर्नेहरुको सतर्कता र सक्रियताले यहाँ समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट जागिएको भन्दै समुदायस्तरमा प्रसंशा हुन थालेको छ ।

यहाँ प्रशासन सहितका निकायहरुले लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य गर्दै क्वारेन्टिनहरुलाई ब्यवस्थित गर्न नियमित अनुगमन गर्ने, खाद्यान्न तथा अत्यावाश्यक वस्तुको उपलब्धताका लागि नियमित रुपमा बजार अनुगमन गर्ने कार्यमा जोड दिएका थिए । यस्तै भारतसँग सीमा जोडिएका तीन स्थान सशस्त्र प्रहरीका अस्थायी चौकी स्थापना गरिएको थियो ।

बन्दाबन्दी खुलेको अवस्थामा भने प्रशासनले मास्कको प्रयोगमा विशेष जोड दिएको प्रजिअ शर्माले वताउनुभयो । “विद्यालय खोल्ने तथा बाहिरबाट आउनेलाई होम क्वारेन्टिनमा राख्ने तयारीपछि सचेतना र सतर्कतामा विशेष जोड दिइनुपर्छ”, प्रजिअ शर्माले भन्नुभयो ।

यहाँ मास्कको प्रयोगका लागि सूचित गरिनुका साथै अटेर गर्नेहरुबाट रु. १०० जरिवाना लिनसक्ने सूचना प्रशासनले जारी गरेको छ । यहाँ अहिले क्वारेन्टिनमा १८ जना ब्यक्तिहरु छन् भने एक जना सक्रिय सङ्क्रमित कोभिड–१९ विशेष अस्पताल मोरङमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । उनीहरु सबै विदेशबाट फर्केका ब्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्