राजनीतिज्ञ एवम् सामाजिक ब्यक्तित्व थुमनाथ चापागाँईको निधन



फिदिम, १२ साउन

पाँचथरका राजनीतिक एवम् सामाजिक ब्यक्तित्व थुमनाथ चापागाँईको ६९ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

आफन्तहरुका अनुसार उहाँको आज विहान फिदिम नगरपालिका वडा नं. १२ स्थित निवासमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित भई लामो समय काठमाण्डौँका विभिन्न अस्पतालमा उपचार गरिएपश्चात रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उहालाई निजी निवास ल्याइएको थियो ।

उहाँको भोली अन्त्यष्टि गरिने उहाँका भतिजा मनरथ चापागाँईले जानकारी दिनुभयो । दिवङ्गत चापागाँईका दुई जना श्रीमती, ७ जना छोरा र ५ जना छोरीहरु हुनुहुन्छ ।

वि.सं. २००८ साल जेष्ठ १६ गते जन्मनुभएका चापागाँई पञ्चायतकालमा जनपक्षीय उम्मेद्वार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्च चुनिनुभएको थियो । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उहाँ नांगीन गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

कम्युनिष्ट पार्टीका कुशल सङ्गठक मानिने चापागाँईको हक्की र स्पष्टवक्ताको स्वभावलाई धेरैले मन पराउने गर्दथे । गत स्थानीय तह निर्वाचनमा उहाँ तत्कालीन नेकपा (एमाले)मा फिदिम नगरपालिकाको मेयर पदको आकाङ्क्षी समेत हुनुहुन्थ्यो ।

जीवनभर सामाजिक क्षेत्र सक्रिय उहाँ तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिव निर्वाचित हुनुभएको थियो । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहनुभएका चापागाँई हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ प्रदेश सल्लाहकार परिषदको सदस्य रहनुभएको थियो ।

उहाँ सामुदायिक विद्युतिकरण जिल्ला सहकारी संघ पाँचथरको अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वमा समेत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्