

रवीन्द्र काफ्ले
पाँचथर, १० साउन
पानीका प्राकृतिक मुहानहरु सुक्दै गएपछि सुक्खाबाट प्रभावित बनेको पाँचथरको कुम्मायक गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट सिंचाई आयोजना सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट तमोर नदीको पानीलाई नदी नजिकका वस्तीहरुमा पु¥याई सिंचाईको प्रवन्ध गर्ने तयारी थालेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा नमूना सिंचाई आयोजना सञ्चालनका लागि रु. ३० लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटमा लागत साझेदारीको नीतिअनुसार लाभान्वित हुने स्थानीयवासीको आर्थिक सहभागिता जुटाई नमूना आयोजना सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले वताउनुभयो ।
कुम्मायक गाउँपालिका वडा नं. १, ३, ४ र ५ मा वृहत लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको छ । अव सोही आयोजनाको पानीलाई सिंचाईमा उपयोग गरी कृषि उपज उत्पादनमा जोड दिन लागिएको हो ।
नमूना सिंचाई आयोजना सञ्चालनका लागि गाउँपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । “कार्यविधिमा आयोजना कसरी, कुन–कुन क्षेत्रमा सञ्चालन गर्ने भन्ने मापदण्ड स्पष्ट गर्छौँ”, गाउँपालिका अध्यक्ष चेम्जोङले भन्नुभयो, “यसै आर्थिक वर्षमा नमूना आयोजनाबाट कृषकहरुलाई लाभ पु¥याउने हाम्रो लक्ष्य छ ।”
तमोर नदी आसपासको क्षेत्रलाई लक्षित गरी यो आयोजना सञ्चालन गर्न लागिएको हो । नदी नजिकैको क्षेत्रमा आयोजना सञ्चालन गर्दा विद्युत महशुल कम हुने भएकाले गाउँपालिकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर आयोजनाको परिकल्पना गरेको हो ।
विगतमा प्रदेश सरकारबाट समेत लिफ्टिङ सिंचाई आयोजनाका लागि यहाँको सिम्ले गाउँमा सर्वे समेत गरेको थियो । तर लागत रकम बढी हुने भएपछि प्रदेश सरकारको उक्त कार्यक्रम रोकिएको अध्यक्ष चेम्जोङले वताउनुभयो ।
कार्यविधि निर्माणपछि गाउँपालिकाले उक्त आयोजना सञ्चालनका लागि प्राविधिक अनुमान (स्टिमेट) तयार पार्नेछ । “गाउँपालिका तथा स्थानीयवासीको कम भन्दा कम लगानीमा धेरै कृषकहरु लाभान्वित हुने गरी आयोजना सञ्चालन गर्न लागिएको हो”, अध्यक्ष चेम्जोङले भन्नुभयो, “भोली आयोजना सञ्चालनमा तानातान नहोस् भनेर कार्यविधि र प्राविधिक स्टिमेटमा सबै कुरा स्पष्ट गर्छौँ ।”
गाउँपालिकासँग ठूलो बजेट नहुने तथा स्थानीयवासीले समेत प¥याप्त लगानी जुटाउन नसक्ने भएकाले कम भन्दा कम लगानीमा सिंचाई उपलब्ध हुनसक्ने क्षेत्रमा मात्रै लिफ्टिङ प्रविधिको प्रयोग गर्न लागिएको हो ।
कुम्मायक गाउँपालिकामा पर्ने साविकको यासोक, रानीगाउँ र स्याबरुम्बा गाविस सुक्खाबाट प्रभावित छन् । वर्षा कम हुँदै जानु तथा जथाभावी सडक निर्माण भएपछि यहाँ रहेका पानीका प्राकृतिक मुलहरु दुई दशक अघिबाट क्रमशः सुक्दै गएका थिए ।
खानेपानीको हाहाकार भएपछि यहाँ वृहत पम्पिङ खानेपानी आयोजना गत फागुनबाट सञ्चालनमा आएको छ । तर सुक्खाका कारण स्थानीयवासीले खेती लगाउन सकेका छैनन् भने पशुपालनका लागि समेत पानी तथा घाँसको समस्या पर्ने गरेको छ ।
जिविका चलाउन कठीन पर्ने भएपछि यहाँका सयौँ घर परिवार बसाईँ सरेर तराईका जिल्लाहरुमा पुगेका छन् । सुक्खाग्रस्त क्षेत्रहरु उर्बर भएपनि सिंचाईको अभावले मरुभूमिमा परिणत हुने अवस्थामा पुगेका छन् । बसाईँसराई रोक्न खानेपानीपछि सिंचाईको सुविधा पु¥याउनैपर्ने आवश्यकता खड्किएको गाउँपालिका अध्यक्ष चेम्जोङको भनाई छ ।
सुक्खाग्रस्त क्षेत्रका ३०४३ परिवारका लागि गत फागुनमा पम्पिङ प्रविधिमार्फत खानेपानी वितरण थालिएको थियो । उक्त आयोजनाबाट यहाँका चार वटा वडाका १३ हजार २६६ जना स्थानीयवासी लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७२÷०७३ बाट बृहत पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भई गत वर्ष सम्पन्न भएको हो । साविकका ती तीन गाविसलाई सरकारले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । उक्त वृहत खानेपानी आयोजना रु. ५१ करोड ३० लाख २० हजारको लागतमा सम्पन्न भएको हो ।
कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पुर्याई खानेपानी वितरण भइरहेको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)को सहायताले डाँडासम्म पानी पुर्याइएको छ । यहि खानेपानी आयोजनाबाट नमूना सिंचाई आयोजना सञ्चालन गर्न लागिएको हो ।
पाँचथरमा पहिलो पटक लिफ्टिङ प्रविधिबाट सिंचाई आयोजना सञ्चालन गर्न लागिएको हो । लिफ्टिङ एवम् पम्पिङ प्रविधिबाट भने कुम्मायकका अतिरिक्त जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का लागि आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना तथा फिदिम नगरपालिका–९ र फाल्गुनन्द गाउँपालिका–१ का लागि लुम्फाबुङ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् ।