कोरोनाभाइरसः १०९ सङ्क्रमित थपिँदा १०६ जना डिस्चार्ज



फिदिम । नेपालमा थप १०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

यससँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्या १८,४८३ पुगेको छ । अहिलेसम्म ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १३,०५३ अर्थात् ७० प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन् । अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सङ्क्रमण भएका कुल ५,३८५ व्यक्ति देशभरि आइसोलेशनमा छन् । केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएर मृत्यु हुने ४५औं व्यक्ति बाराको परवानीपुर वडा नं ८ की १७ वर्षीय महिला रहेको मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले दिए । उनको शुक्रवार गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो ।

साउन ८ बिहीवार गते स्वाब सङ्कलन गरिएको उनको शुक्रवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनलाई अक्सिजनको कमी भएको र पखाला लागेको डा. गौतमले जानकारी दिए ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,०७५ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १०६ जना कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन् । अहिले देशभरिका क्वारन्टीनमा १८,१८३ जना छन् ।

नेपालमा पुष्टि भएका अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन् । तीमध्ये पनि २०–४० वर्ष उमेर समूहका व्यक्ति सर्वाधिक भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको कुल संख्या ४,००० नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्