एक युगका एक ब्यक्ति बर्मन बुढाः कम्युनिस्ट आदर्शका पर्याय



फिदिम । नेपालका कतिपय कम्युनिस्ट नेताहरूले ‘आदर्श’ मान्ने एकजना पुराना कम्युनिस्ट नेता बर्मन बुढाको बुधवार निधन भएपश्चात् उनीबारे चर्चा परिचर्चा भइरहेको छ । विशेषगरी कम्युनिस्ट र कम्युनिस्ट पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका नेताहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले उनको निधनले आफूहरू दुःखी भएको जनाएका छन् । दाहालले उनको निधनले “नेपाली मुक्तिकामी आन्दोलनले अभिभावक गुमाएको” जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले ट्विटरमार्फत् बुढा २०४८ सालमा सांसद हुँदा संसद्मा सँगै रहेको कुरा स्मरण गरेका छन् । उनले लेखेका छन्, “उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसद्मा आइपुग्नु भएको म विशेष स्मरण गर्दछु ।”

नेकपाका अर्का अध्यक्ष दाहालले ट्विटरमार्फत् नै बुढालाई “नेपाली मुक्तिकामी आन्दोलनका अथक र अविचलित योद्धा” भनेका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढाको घरमा बिताएको पलको सम्झना गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, “२०४९ सालको दशैँ थबाङस्थित वहाँको घरमा बिताएको र लामो सङ्गत गरेको सम्झना सधैँ भई रहनेछ ।”

पूर्व माओवादी नेता मोहन वैद्यले बुढाले रोल्पामा कम्युनिस्ट आन्दोलनलाई सङ्गठित बनाउन महत्वपूर्ण भूमिका खेलको बताए । उनले भने, “त्यहाँको वर्ग सङ्घर्ष, त्यहाँको जनसङ्घर्ष त्यहाँ कम्युनिस्ट पार्टीलाई रोल्पामा स्थापित गर्ने काममा कमरेड बर्मनको महत्त्वपूर्ण भूमिका रह्यो ।”

उनले २०३२/०३३ सालदेखि बुढासँग आफूले सहकार्य गरेको बताउँदै २०४१ सालमा नेकपा मसाल फुट्दाखेरि पनि बुढा आफ्नो पार्टीमै रहेको जानकारी दिए ।

रोल्पाको थबाङका बुढा विद्रोही स्वभावका भए पनि सुरुमा उनलाई कम्युनिस्ट आन्दोलनबारे खासै केही थाहा नभएको बुढालाई कम्युनिस्ट बनाउन भूमिका खेल्नेमध्येका एकजना नेताले बताएका छन् ।

आफूलाई अर्ध भूमिगत रहेको बताउने एकजना पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहले भने, “२०११ सालमा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा हामी प्यूठान जेलमा परेका थियौँ । त्यसै क्रममा मनमोहन मिश्र भन्ने बडाहाकिमले उनलाई पक्राउको आदेश दिए र उहाँ पनि प्यूठान जेलमा पर्नुभयो ।

त्यसबेला हामीलाई भने पाल्पा जेलमा सारिएको थियो । तर उहाँको प्यूठान जेलमा हाम्रा तीनजना साथीसँग भेट भयो । त्यसबेलासम्म उहाँलाई कम्युनिस्टबारे जानकारी थिएन ।”

मोहनविक्रमका अनुसार उनीहरू २०१३ सालमा जेलबाट छुटेपछि प्यूठानको जेलमा बस्दा बर्मनसँग सम्पर्कमा रहेका आफ्ना साथीहरूमार्फत् उनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिइएको हो ।

सुरुमा बुढा तत्कालीन गाउँका मुखियालाई हातपात गरेको आरोपमा जेलमा परेका थिए । तर जेलमा कम्युनिस्ट नेताहरूसँग भेट भएपछि मात्र उनी कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भएको मोहनविक्रमले बताए ।

मोहनविक्रमहरूको समूहले बुढालाई कम्युनिस्ट बनाए पनि पछि पटक–पटक पार्टी फुट्ने क्रममा २०४१ सालमा नेकपा मसाल दुई टुक्रा भएपछि बुढाले मोहनविक्रमहरूको साथ छाडेका थिए ।

“त्यसबेला उहाँले वैद्य (मोहन वैद्य) जीहरूलाई रोज्नुभयो तर हाम्रो कुराकानी र भेटघाट भइरहन्थ्यो” मोहनविक्रमले भने । पञ्चायती व्यवस्था अन्त्य भएर बहुदल आएपछि बुढा रोल्पा क्षेत्र नम्बर–१ बाट जनमोर्चाका तर्फबाट सांसद बनेका थिए ।

त्यसक्रममा उनले मगरहरूले लगाउने परम्परागत पोसाक कछाड नै लगाएर संसद् भवन प्रवेश गरेको कुराले त्यसबेला पनि निकै चर्चा पाएको जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले पनि उक्त त्यसबेला उनी “आफ्नो मौलिक परिचय र भेषसहित” संसद्मा आएको उल्लेख गरेका छन् । उनको सहपाठी रहेकाहरूले विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरेको विवरण अनुसार उनले राजाहरूसँगको भेटमा पनि कछाड नै लगाउने गरेका थिए ।

लामो समय एउटै पार्टीमा रहेर काम गरेका नेताहरू मोहनविक्रम र मोहन वैद्यका अनुसार उनी सधैँ विद्रोही स्वभावमा कायम रहे । उनकै नेतृत्वमा थबाङमा कि त कम्युनिस्टलाई मात्र भोट हाल्ने कि त चुनावमा मतदान नै नगर्ने अवस्था आएको थियो ।

“उहाँकै नेतृत्वमा थबाङ राज्यप्रतिको विद्रोह जीवित रहेको थियो” मोहनविक्रम भन्छन् । त्यस्तै माओवादी विद्रोहका बेला उनले हतियार नबोके पनि माओवादीलाई अभिभावक जसरी सहयोग गरेको वैद्य स्मरण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्