इम्बोस्ट नम्बर प्लेट वितरण सुरु, सबै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना हुने



काठमाण्डौँ । शुक्रबारबाट इम्बोस्ट नम्बर प्लेटको वितरण सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा वितरण सुरु गर्नु भएको हो । भेहिकल फिटनेस टेस्ट सेन्टर टेकुमा आयोजित कार्यक्रममा प्लेट राखेर औपचारिक रुपमा सुरुवात गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे भौतिक मन्त्री नेम्वाङले मुलुक संघीयतामा गइसकेपछि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायात व्यवस्था गर्नका निम्ति प्रत्येक तहलाई एकल र संयुक्त अधिकारको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

सोही बमोजिम यातायात क्षेत्रलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न तदारुकताका साथ कार्यान्वयन भइरहेको मन्त्री नेम्वाङको भनाई थियो । मन्त्री नेम्वाङले सातै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना हुने उल्लेख गर्नुभयो ।

“सबै प्रकारका सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालयहरु स्थापना गर्ने काम संघीयता कार्यान्वयन सँगसँगै कानूनी व्यवस्था गरेर सातै ओटा प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना गर्ने संघीय सरकारको योजनामा बमोजिम बुटवल र हेटौंडामा स्थापना भइसकेको छ”, उहाँले भन्नुभयो ।

उहाँले इम्बोस्ट नम्बर प्लेट राख्ने सरकारको तयारी अगाडीबाटै भएपनि कानुनी व्यवधान रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “डिजिटलाईज गरेर स्मार्ट प्लेटका रुपमा इम्बोस्ड नम्बर प्लेट २५ लाख सवारी साधनमा राख्ने सरकारको तर्फबाट प्रक्रिया अगाडी बढेको थियो ।

सुरुवातमा कानुनी कारण व्यवधान रह्यो । अहिले आएर यो कार्यान्वयन हुन गइरहेको छ । केही बर्ष भित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य सुरु भएको छ ।”

यातायात व्यवस्था विभागले आजैबाट दुईओटा घुम्ती सवारी प्रदुषण जाँच सेवा सञ्चालनमा ल्याएको छ । मन्त्री नेम्वाङले घुम्ती सवारी जाँचले सवारी प्रदुषण मापनको सन्दर्भमा नयाँ ढंगले नियन्त्रण गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

मन्त्री नेम्वाङ, प्रदेश मन्त्री फुयाल, भौतिक पूर्वाधार तथा यातायात सचिव देबेन्द्र कार्की तथा यातायात व्यस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको टोलीले आजै यातायात व्यवस्था विभागको पछाडी रहेको भवनमा भइरहेको इम्बोस्ट नम्बर प्लेट छपाईको काम समेत अवलोकन गरेको छ ।

कस्तो हुन्छ त नम्बर प्लेट ?

यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सिमित गर्नेछ। अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।

त्यस्तै सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।

प्रतिक्रिया दिनुहोस्