थप १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम । विगत २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्या १८,२४१ पुगेको छ ।

सङ्क्रमितहरूमध्ये १२,८४० जना अर्थात् ७०.३९ प्रतिशत व्यक्ति भाइरसमुक्त भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार विगत २४ घण्टामा १५६ जना निको भएको छन् ।

अहिले सम्म ४३ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणबाट मृत्यु भएको पुष्टि भएको छ । अहिले सङ्क्रमण भएका कुल ५,३५८ जना देशभरि आइसोलेशनमा छन् ।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको संख्या घटिरहेको छ । मङ्गलवार १५० जनामा सङ्क्रमण देखिएको र बुधवार १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।

भारतबाट घर फर्किने मानिसको संख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये कञ्चनपुरका ३०, दैलेखका २४, पर्साका १७ र रूपन्देहीका ११ जना छन् । काठमाण्डौँ उपत्यकामा सात जनामा पनि कोभिड–१९ पुष्टि भएको छ ।

त्यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा पनि सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ३,४८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको संख्या २०,०९८ छ । अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन् ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक संख्यामा मानिसहरू सङ्क्रमित भएका छन् । तीनै प्रदेशमा सङ्क्रमितको संख्या ४,००० नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्