

फिदिम, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४२औँ स्मृति दिवशमा नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतामा जोड दिएका छन् ।
पुष्पलालको ४२औँ स्मृति दिवशको अवसरमा बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको कार्यक्रममा नेताहरुले बलियो एकताले मात्रै कम्युनिष्ट आन्दोलनका अग्रज नेता तथा शहीदहरुले देखाएको सपना साकार पार्न सहयोग पुग्ने वताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले पुष्पलाल सहित कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन विशिष्ट योगदान दिने नेताहरुबाट प्रेरणा लिनुपर्ने वताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन सशक्त हुन सकेमात्रै राष्ट्रिय स्वाधिनता, जनताका अधिकारको रक्षा र समाजवादको स्थापना सम्भव भएकाले जनस्तरसम्म नेकपाका गतिविधि सशक्त एवम् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं. १ प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले नेकपा तीन तहका सरकारको नेतृत्वमा रहेको वर्तमान सन्दर्भमा संस्थापक नेताहरुको सपना तथा कम्युनिष्ट आदर्श पछ्याएर हिँड्नुपर्नेमा जोड दिनुभयो । नेकपा सरकारमा रहेकै वखत आम उत्पीडित तथा श्रमजिवी वर्गको हितमा काम गर्न सकेमात्रै नेपालको कम्युनिष्ट आन्दोलन अझ उचाईमा पुग्ने नेता नेम्वाङको धारणा थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका बहस र अन्तरसंघर्षका विषयमा कार्यकर्ता स्तरमा सामाजिक सञ्जालमा ब्यक्त उच्छृङ्खतला रोक्न आग्रह गर्नुभयो । नेकपा संस्थापक पुष्पलाललाई पार्टीबाट बाहिर राखिँदा समेत उहाँले कोही कसैप्रति आरोप र लान्छना नलगाएको स्मरण गराउँदै भण्डारीले भन्नुभयो, “आज केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल सबै हाम्रा शीर्ष नेताहरु हुनुहुन्छ । कोही शीर्ष नेतालाई पनि फेसबुकमा गाली गर्नेहरुको चरित्र गैरकम्युनिष्ट छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य विशाल रसाइलीले पुष्पलाल तथा कम्युनिष्ट आन्दोलनबारे टोलस्तरसम्म कार्यक्रम तथा छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ७० वर्षको संघर्षको प्रतिफलस्वरुप तीन तहमा कम्युनिष्ट पार्टीले बहुमत पाएकाले उक्त बहुमतलाई जोगाई जनताका मुद्दा सम्बोधन गर्नुपर्ने वताउनुभयो ।
नेकपाका अर्का प्रदेश कमिटी सदस्य अमरसिंह थापाले पुष्पलाल सहित अग्रज तथा शहीदको बाटोमा हिँड्ने प्रेरणा लिई एकतावद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीको अध्यक्ष तथा सचिव होमबहादुर जवेगूको सञ्चालनमा आयोजित कार्यक्रममा नेकपा पाँचथरका कार्यालय सदस्यहरु तिवेन्द्रराज चापागाई, महेन्द्रहाङ जवेगू ‘फुङनिमा’ र टीकाप्रकाश नेम्वाङ ‘परिचित’ ले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथर जिल्ला कमिटीकी सचिवालय सदस्य आशारत्न जवेगू, जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलाल लगायतको समेत उपस्थिति थियो ।
पुष्पलालको ४२औँ स्मृति दिवशकै अवसरमा फिदिम नगरपालिका वडा नं. १ बाट उपलब्ध विभिन्न प्रजातिका विरुवाहरु नेकपा पार्टी कार्यालय सहित फिदिमका विभिन्न स्थानमा रोप्ने काम समेत सम्पन्न भएको छ ।