प्रदेश नं १ मा हालसम्म ८२ प्रतिशत रोपाइँ सम्पन्न



फिदिम । प्रदेश नं १ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमा १९ हजार १८७ हेक्टर जमीनमा अर्थात् ८० प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमीनमा ६८ हजार ४७८ अर्थात् ७५ प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमीनमा एक लाख ९३ हजार ५५५ हेक्टर जमीनमा अर्थात ८६ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष रोपाइँ गर्न किसानले पानीको समस्या झेल्नु नपरेको हुँदा धानखेतीको क्षेत्र अझ बढ्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्