अब लामो दूरीका यातायात पनि चल्ने



फिदिम । सार्वजनिक यातायात बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । सोमबार यातायात व्यवस्था विभागसँग भएको छलफलमा सहमति भएपछि यातायात व्यवसायी सवारी सञ्चालन गर्न लागेका हुन् ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले गाडी चलाउन व्यवसायी तयार भएको र बिहीबारबाट आवश्यकताअनुसार गाडी चल्दै जाने वताउनुभयो । यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मंगलबार यातायात व्यवसायीबीच छलफल गरेर मात्र सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले पछि जानकारी दिने वताउनुभयो ।

सोमबार भएको छलफलमा यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने, कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने सहमति भएको थियो ।

त्यस्तै, यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने, उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौं महानगरपालिकाले राख्ने सहमति भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि छोटा तथा लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । तर, त्यसबारे गरिएका निर्णय सरकारले बिहीबार सार्वजनिक गर्नेछ ।

बैठकले जोर–बिजोर प्रणाली पनि हटाइसकेको छ । साथै एक जिल्लाबाट अर्को जिल्ला पनि गाडी चलाउन पाइने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्