पर्याप्त जनशक्ति नहुँदा पूर्वाधार निर्माणमा प्रभाव पर्योः मन्त्री नेम्वाङ



फिदिम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले माग अनुसारको सडक पुल निर्माणमा प्राविधिक जनशक्तिको अभाव रहेको वताउनुभएको छ ।

अहिले १ हजार ५ सय बढी पुल निर्माणको क्रममा रहेको र वार्षिक २ सय पुल मात्र निर्माण गर्ने प्राविधिक उपलब्ध भएकाले माग अनुसारको पुल निर्माण गर्न नसकिएको उहाँले वताउनुभयो ।

संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उहाँले मन्त्रालयसँग जनशक्ति अभाव हुँदा पुल निर्माण गर्ने क्षमता कम भएको वताउनुभयो ।

मन्त्रालयमा दरबन्दी भएपनि १३ जना पहिलो दर्जा र ४० जना दोस्रो दर्जाको कर्मचारी, १ सय १६ जना इन्जिनियर, १ सय ५० जना सबइन्जिनियर रिक्त हुँदा काम गर्ने क्षमतामा कमजोर दखिएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव देबेन्द्र कार्कीले माग अनुसारका पुल निर्माण गर्न मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा पनि सबै पुल निर्माण गर्ने क्षमता नभएको बताउनुभयो ।

उहाँले मन्त्रालय तथा विभाग अन्तर्गत एक इन्जिनियरले ५०/६० पुलको सुपरभिजन गर्नुपर्ने अवस्था रहेकाले गुणस्तरीय पुल निर्माणमा समस्या आउने गरेको वताउनुभयो ।

बैठकमा सांसदहरुले पुराना र जिर्ण पुलहरुको निर्माणमा कार्यतालिका निर्माण गरी काम गर्न सुझाव दिएका थिए । त्यस्तै टेकु पुलको परीक्षण गर्न सम्बन्धित निर्माण कम्पनीले आग्रह गरिरहेको उल्लेख गर्दै कम भारको सवारी साधन सञ्चालन गर्न सक्ने नसक्ने सम्बन्धमा विभागको धारणा माग गरेका थिए ।

जवाफमा सडक विभागका विभागका केशवकुमार शर्माले कन्सल्ट्यान्टले भारबहन क्षमता कमजोर रहेको रिपोर्ट दिइसकेकाले स्वीकार नगरिएको र साना सवारी साधन सञ्चालन गर्न दिए निर्माण कम्पनी अदालतमा बलियो गरी प्रस्तुत हुनसक्ने भएकाले सवारी साधन सञ्चालन गर्न नदिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्