नेपालमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम । विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १५६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,६५८ पुगेको छ ।

तीमध्ये ११,६९५ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । शनिवार ५७ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको थियो ।

विगत २४ घण्टामा ५८ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,९२३ मानिस देशभरि आइसोलेशनमा छन् ।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ । भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ ।

नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले आठ जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन् । प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ । त्यहाँ २,३७७ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १,८८६ जना रहेका छन् ।

त्यस्तै प्रदेश नं १ मा ७९, वागमतीमा ४१०, गण्डकीमा ४२८, प्रदेश नं ५ मा ४४७ र कर्णाली प्रदेशमा २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । विगत २४ घण्टामा पीसीआर विधिबाट ३,७४१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३,१५,५७० जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २२,००० भन्दा केही बढी छ । अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन् । अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्