

पाँचथर । यहाँका सबै कोरोनाभाइरस सङ्क्रमितहरु निको भएका छन् ।
विदेशबाट आई फिदिम स्थित क्वारेन्टाइनमा बसेका यहाँका चार जना ब्यक्तिहरुमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका हुन् । चारै जनालाई विभिन्न खाडी राष्ट्रहरुबाट उद्धार गरिएको हो ।
पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुषहरु कोरोनालाई जितेर उपचाररत अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रवार यहाँका क्वारेन्टाइनमा बस्नेको संख्या समेत शून्यमा झरेको छ ।
पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोनाभाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीय युवतीमा सङ्क्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाक ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।
यस्तै साउदीअरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
उनीहरु मध्ये दोश्रो सङ्क्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ आएपछि घर फर्कँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुशार शुक्रवार जिल्लाका ४२ वटा क्वारेन्टाइनहरु पूर्ण रुपमा खाली भएका छन् ।
क्वारेन्टाइनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २२०३ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडीटी) गरिएको छ । क्वारेन्टाइनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २२०३ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडीटी) गरिएको छ ।