नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार पुग्यो



फिदिम । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या १७ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ११६ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरु फेला परेका छन् । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कूल संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४३०० पीसीआर परीक्षण गरिएको छ ।

पाँचथरका छिमेकी जिल्लामा भेटिए सङ्क्रमित

पाँचथरसँग सीमा जोडिएका इलाम, धनकुटा र तेह्रथुम जिल्लामा आज कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा धनकुटाका तीन जना, तेह्रथुमका एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगर प्रयोगशालामा इलामका दुई जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्