थप १४४ जनामा सङ्क्रमण पुष्टि, १७ सय जना डिस्चार्ज



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,९४५ पुगेको छ ।

तीमध्ये ६०.७ प्रतिशत अर्थात् १०,२९४ जना भाइरसमुक्त भएका र ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा १,७०५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो ।

अहिले देशभरि ६,६१३ सक्रिय सङ्क्रमित छन् । गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ ।

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् । तीमध्ये प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना छन् । तीमध्ये सुर्खेतमा सर्वाधिक ४१ जना, धनुषामा २७ जना र कैलालीमा १० जना छन् ।

काठमाण्डौँ उपत्यकामा नौ जनामा सङ्क्रमण देखिको छ । तीमध्ये ललितपुरमा पाँच, काठमाण्डौँमा तीन र भक्तपुरमा एक जना छन् । योसहित उपत्यकामा फेला परेका सङ्क्रमितको कुल सङ्ख्या ३५६ पुगेको छ ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ५,८५६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । कुनै बेला १,७०,००० मानिस क्वारन्टीनमा भएको भए पनि अहिले केवल २३,४७० जना छन् । तीमध्ये सुदूरपश्चिममा सर्वाधिक ५,५१७ छन् ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन् । अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ । त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या २,५१२ छ । अहिले महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

प्रतिक्रिया दिनुहोस्