आइतवार विश्वमा हालसम्मकै सर्वाधिक कोरोना सङ्क्रमित फेला



फिदिम । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतवार विश्वभरि २,३०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो ।

अधिकांश सङ्क्रमितहरू अमेरिकी महादेशका राष्ट्रहरूमा फेला परेका हुन् । त्यसपछि दक्षिण तथा दक्षिणपूर्वी एशियामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढी छ ।

जसअनुसार अमेरिकी महादेशहरूमा १,४२,९९२ जना, दक्षिणपूर्वी एशियामा ३३,१७३ जना, युरोपमा १८,८०४ जना, अफ्रिकामा १७,८८४ जना, पूर्वी भूमध्यसागरीय क्षेत्रमा १५,३६१ जना र पश्चिमी प्रशान्त क्षेत्रमा २,१५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यो अवधिमा विश्वभरि ५,२८५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको तथ्याङ्क प्राप्त भएको छ । तीमध्ये अधिकांश अमेरिकी महादेशमा बसोबास गर्ने मानिस हुन् ।

दक्षिण एशियाको भारतमा मात्र केही दिनयता प्रत्येक दिन २०,००० भन्दा धेरै सङ्क्रमित पाइन थालेको छ । आइतवार त्यहाँ २८,००० जनाभन्दा धेरैमा कोभिड–१९ पुष्टि भएको र ५५१ जनाको ज्यान गएको सरकारले जनाएको छ ।

अहिलेसम्म विश्वभरि एक करोड २९ लाखभन्दा बढी मानिसमा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये ५,६८,००० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।

दक्षिण एशियाका दुई देश भारत र पाकिस्तान शीर्ष १५ स्थानमा छन् । अमेरिका र ब्रजिलपछि सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेको भारत विश्वभरि तेस्रो स्थानमा छ । तर मृतकको सङ्ख्याको आधारमा भारत आठौँ स्थानमा छ ।

सङ्क्रमितको सङ्ख्या बढिरहेको पाकिस्तान दक्षिण एशियामा दोस्रो र विश्वभरिमा बाह्रौँ स्थानमा छ । एक लाख त्रियासी हजारभन्दा बढी सङ्क्रमित भेटिएको बङ्गलादेश दक्षिण एशियामा चौथौ स्थानमा र विश्वमा पाकिस्तानभन्दा चार स्थानमुनि छ । बङ्गलादेशमा २,३५२ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा ३४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित छन् भने त्यहाँ मृतकको संख्या १,००० नाघेको छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या १७,००० हाराहारी पुग्न लाग्दा ३८ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा २,७३१ सङ्क्रमितमध्ये १३ जनाको र श्रीलङ्कामा २,६१७ मध्ये ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म भुटानमा सङ्क्रमितको सङ्ख्या १०० मुनि नै छ । त्यहाँ कसैको मृत्यु भएको छैन । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्