

फिदिम । भारत हुँदै दुई साताभित्र शनिवार नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश गरेको अधिकारीहरूले बताएका छन् । पन्ध्र दिन पहिले पनि नेपालमा सलहका ससाना बगालहरू भित्रिएका थिए ।
अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक सुनिल अर्यालले बताउनुभयो । “अहिलेको समूह पहिलेको भन्दा ठूलो हो कि सानो हो भन्ने स्पष्ट भइसकेको छैन, तर शनिवार बिहानै भारतबाट नेपालमा प्रवेश गरेको पुष्टि भइसकेको छ”, उहाँले भन्नुभयो ।
सतर्कताका लागि आह्वान
प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले शनिवार सूचना जारी गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ । केन्द्रका अनुसार शनिवार बिहान ९ः३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो ।
उक्त समूह दिउँसो १ बजेतिर दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा पनि देखा परेको थियो । सूचनामा भनिएको छ, “उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरू सिर्जना गरी बस्न नदिएपछि उत्तरपूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ । उक्त सलहले प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।”
केन्द्रले योबाहेक अन्य समूहहरू पनि आउन सक्ने सम्भावना रहेको जनाएको छ । नेपालमा अहिले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ ।
केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार वायुको गति मङ्गलवारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । उहाँले भन्नुभयो “अहिलेकै हावाको मोड रहेका भोलि र पर्सिमा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तर प्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।” उहाँले भारतको राजस्थानतर्फबाट पनि अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको जानकारी दिनुभयो ।
जुम्ला पुगे पुराना सलह
त्यस्तै दुई साताअघि नेपाल प्रवेश गरेका समूहका सलह पनि घाम लागेपछि जुम्लालगायतका जिल्लामा देखा परेको उहाँले बताउनुभयो । केन्द्रका महानिर्देशक प्रमुख सहदेवप्रसाद हुमागाईँले नयाँ समूहबाट हुने खतराबारे प्रदेश र स्थानीय सरकारहरूलाई जानकारी गराइसकिएको बताउनुभयो । उहाँले अहिले नै विषादी प्रयोगबारे नसोचिएको भन्दै आफूहरू “पर्ख र हेर” को अवस्थामा रहेको जानकारी दिनुभयो । (बीबीसी नेपालीबाट)