दैवी विपत्तिमा १०० भन्दा बढीको मृत्यु, अझै केही दिन वर्षा हुने



फिदिम । नेपालमा यस वर्षको मनसुन सुरु भएपछि झन्डै एक महिनाको अवधिमा बाढी, पहिरो र चट्याङका कारण झन्डै १०० जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ ।

गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत जेठ २८ गतेदेखि आइतवार बिहानसम्ममा बाढी, पहिरो र चट्ट्याङका कारण ९६ जनाको ज्यान गइसकेको छ भने कम्तीमा ३८ जना बेपत्ता छन् ।

यो ११६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार गत साताको अन्त्यदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाले विशेषतः मध्यपहाडी जिल्लाहरूमा पहिरोले धेरैको ज्यान लिएको छ ।

मन्त्रालयका अनुसार विगत तीन दिनमै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण सयौँ परिवार आफ्नो बसोबास क्षेत्रबाट विस्थापित हुनुपरेको छ । मन्त्रालयले शनिवार मात्र लमजुङका ४९ र रौतहटका ३०० विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो ।

त्यस्तै सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट लगायत जिल्लामा पनि पहिरोका कारण कैयौँ परिवार विस्थापित भएको जनाइएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गएको एक महिनामा बाढी, पहिरो र चट्याङबाट ३९६ परिवार प्रभावित भएका छन् ।

गएको एक महिनामा बाढी, पहिरो र चट्याङका कुल २३३ घटना भएको केन्द्रले जनाएको छ । यस अवधिमा पहिरोमा परेर सबैभन्दा बढीले ज्यान गुमाएका छन् । पहिरोमा परेर ७६ जनाको ज्यान गएको छ । चट्याङ लागेर १७ जना र बाढीमा परेर ३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी पहिरोमा परेका ३५ जना अझै बेपत्ता छन् भने बाढीमा परेर तीन जना हराइरहेका छन् । तीनैखाले प्राकृतिक विपद्बाट ज्यान गुमाउनेमा पुरुषहरू धेरै छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न भागमा बाढी र पहिरोको खतरा बढी रहेको छ । शाखाले कोशी, कमला, वाग्मती, नारायणीजस्ता ठूला नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल प्रदेश १, २ बागमति तथा गण्डकी प्रदेशका धेरै स्थानहरू र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मनसुनी बादल विकसित भई मेघ गर्जन चट्याङसहित वर्षाको भइरहेको छ । त्यस्तै प्रदेश नम्बर १, २ र ५ का चुरे र तराई क्षेत्रबाट बहने साना नदीमा आकस्मिक रूपमा बाढी आउने उच्च सम्भावना रहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार सम्भावित खतरा रहेका क्षेत्रका बासिन्दाहरूलाई एसएमएसमार्फत् पनि चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा जारी रहने जनाएको छ ।

आइतवार बिहान आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एकाध स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका उपसिचव मुरारी वस्तीका अनुसार आइतवार बाढी र पहिरोमा परेर केही व्यक्ति मृत्यु भएको पुष्टि भएको छ । आइतवार म्याग्दीमा सात जना, सिन्धुपाल्चोक र जागरकोटमा एक–एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

त्यो बाहेक सङ्खुवासभामा पनि एक जनाको मृत्यु भएको बुझिएको छ । म्याग्दीमा अहिलेसम्म पहिरोमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ । “पहिले हराइरहेका व्यक्तिहरूको खोजी गर्दा मृत्युभएको अवस्थामा कतिपयलाई भेटिएको हो” वस्तीले भने ।

वस्तीले देशैभरिबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति र मृतक तथा घाइतेको संख्या बढिरहेको जानकारी दिए । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्